STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र पत्रकार संघ नेपालकाे विदेश च्याप्टर विस्तार

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १८, सोमबार

काठमाडौं  । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ । नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वव्यापी रूपमा विस्तार हुँदै गएको वर्तमान अवस्थामा संघले यसलाई संस्थागत रूप दिन महत्वपूर्ण कदम चालेको हो ।

संघले हालै बसेको कार्यसमितिको बैठकमार्फत विभिन्न देशहरूमा च्याप्टर गठनका लागि संयोजकहरू लाई जिम्मेवारी प्रदान गरेको छ । यस निर्णयसँगै नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र होइन, अन्तर्राष्ट्रिय सांस्कृतिक नेटवर्कसँग समेत जोड्ने आधार तयार भएको संघले जनाएको छ ।

नयाँ निर्णयअनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा संघका पूर्व उपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्व सचिव उत्तम गौडेल, युरोप क्षेत्रमा मकवानपुर शाखाका पूर्व अध्यक्ष मणिराज गौतम, अष्ट्रेलियामा संघका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दीपश्न लुईटेल तथा कतारमा चलचित्र पत्रकार कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

संघका अध्यक्ष समीर बलामीका अनुसार पछिल्लो समय विदेशमा नेपाली चलचित्र, संगीत, साहित्यिक कार्यक्रम, कवि गोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरू उल्लेखनीय रूपमा बढ्दै गएका छन् । साथै, नेपाली फिल्मको छायांकन र अन्तर्राष्ट्रिय बजार विस्तार पनि विभिन्न देशमा सक्रिय रूपमा भइरहेको सन्दर्भमा यस्तो सञ्जाल आवश्यक बनेको उनले बताए ।

उनका अनुसार विदेश च्याप्टरले केवल संस्थागत प्रतिनिधित्व मात्र नभई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन, बजार विस्तार, सहकार्य तथा सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा समेत काम गर्नेछ । यसले नेपाली चलचित्र पत्रकारितालाई विश्व मञ्चमा अझ प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ । महासचिव गोपिकृष्ण चापागाईका अनुसार संघले आगामी एक वर्षभित्र तोकिएका सबै देशहरूमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।

चलचित्र पत्रकार संघ नेपालले यो पहललाई नेपाली चलचित्र पत्रकारिताको इतिहासमा नयाँ अध्यायका रूपमा लिँदै प्रवासमा रहेका नेपाली सिर्जनात्मक क्षेत्रलाई संस्थागत रूपले जोड्ने दीर्घकालीन रणनीति भएको बताएको छ ।

Categorized in सिनेमा