चीनमा सम्पन्न एभरेष्ट फिल्म फेस्टिभल’ सहभागी फिल्मलाई धन्यवाद ज्ञापन
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १४, बिहिबार
चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ बारे काठमाडौंमा प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ। आज चलचित्र विकास बोर्डको प्रेक्षालय, चाबहिलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराएको हो।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसर पारेर सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तका छाङ्शा र हेङयाङ शहरमा महोत्सव आयोजना गरिएको थियो। “Lights and Shadows Converge, Mountains Shine Together” अर्थात् “छाया र छविको संगम, हिमालको साझा चमक” भन्ने मूल नारासहित सम्पन्न महोत्सवलाई आयोजकले नेपाली चलचित्रलाई चिनियाँ दर्शक र बजारसँग जोड्ने ऐतिहासिक पहलका रूपमा व्याख्या गरेको छ।
महोत्सवमा नेपाली चलचित्र कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, अञ्जिला, तेल–भिसा र होस्टेल ३ प्रदर्शन गरिएको थियो। नेपाली समाज, संस्कृति, हास्य, परिवार, युवा मनोविज्ञान, खेलकुद, संघर्ष र मानवीय संवेदनालाई बोकेका यी चलचित्रले चिनियाँ दर्शकमाझ नेपालको कथा र भावनात्मक भूगोल प्रस्तुत गरेको आयोजक समितिको भनाइ छ।
पत्रकार सम्मेलन एभरेष्ट फिल्म फेस्टिभलका अध्यक्ष करुण थापाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल प्रमुख अतिथिका रूपमा सहभागी थिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल, बोर्डका सदस्यहरू, चलचित्र क्षेत्रका विभिन्न १३ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, महोत्सवमा सहभागी चलचित्रका निर्माता–निर्देशक, कलाकार, सञ्चारकर्मी र चलचित्रकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा प्रेस विज्ञप्ति वाचन, सहभागी प्रतिनिधिको मन्तव्य, सम्मान तथा अवार्ड, सांस्कृतिक प्रस्तुति, अनुभव मन्तव्य, फोटो सेसन र चियापानसमेत गरिएको थियो।कार्यक्रममा एभरेष्ट फिल्म फेस्टिभलका अध्यक्ष करुण थापाले चीनमा सम्पन्न महोत्सव नेपाली चलचित्रका लागि नयाँ अन्तर्राष्ट्रिय ढोका भएको बताए। उनले नेपाली चलचित्रलाई चिनियाँ बजारमा पुर्याउने, दुई देशका चलचित्रकर्मीबीच सहकार्य बढाउने, सह–निर्माणको सम्भावना खोज्ने र सांस्कृतिक आदानप्रदानलाई संस्थागत बनाउने उद्देश्यले महोत्सव गरिएको उल्लेख गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चीनमा नेपाली चलचित्रप्रति देखिएको चासो उत्साहजनक भएको बताए। उनले नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई अब चलचित्र, संस्कृति र पर्यटनमार्फत अझ बलियो बनाउन सकिने धारणा राखे। दाहालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि यस्ता महोत्सव उपयोगी हुने बताउँदै ‘Film + Tourism’ अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले चिनियाँ चलचित्र निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गर्न र नेपाली पक्षबाट आवश्यक सहजीकरण गर्न सकिने पनि बताए।
महोत्सवमा सहभागी चलचित्र प्रतिनिधिका तर्फबाट ‘महाजात्रा’का निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले चीनमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भाषा फरक भए पनि नेपाली कथाले भावना, संस्कृति र जीवनका अनुभवमार्फत अन्तर्राष्ट्रिय दर्शकसँग संवाद गर्न सक्ने सम्भावना महोत्सवले देखाएको उल्लेख गरे। चीनजस्तो विशाल बजारमा नेपाली चलचित्रका लागि ढोका खुल्न थालेको भन्दै उनले यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार महोत्सवका क्रममा चिनियाँ चलचित्र क्षेत्रका प्रतिनिधि, वितरक, लगानीकर्ता तथा सांस्कृतिक संस्थाहरूसँग नेपाली टोलीको भेटघाट र अन्तर्क्रिया भएको थियो। साथै AI चलचित्र, प्राविधिक सहकार्य, प्रतिभा विकास, सह–निर्माण र नेपाली चलचित्रको चिनियाँ बजार प्रवेशका विषयमा पनि छलफल भएको जनाइएको छ।
आयोजक समितिले २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’लाई केवल चलचित्र प्रदर्शनको कार्यक्रम नभई नेपाल–चीन सांस्कृतिक सम्बन्ध, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रा, सह–निर्माणको सम्भावना र फिल्म पर्यटन प्रवर्द्धनको महत्वपूर्ण सुरुवातका रूपमा प्रस्तुत गरेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चलचित्रलाई विश्वबजारमा पुर्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
प्रेश विज्ञप्ति र चिनमा सम्पन्न फेस्टिभलका फोटोहरु यहाबाट हेर्न सक्नुहुनेछ । : https://drive.google.com/drive/folders/16oYhqWLHnIIwMLQyk6IUYWvY8eLaJ-kP?usp=
Categorized in सिनेमा

