छैठो आदिवासी चलचित्र महाेत्सव जेठ १७ गतेदेखि हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १४, बिहिबार
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।
नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक आधार निर्माण गरेका थिए भने वर्तमानका सिर्जनाहरूले मातृभाषा, भूमि–सम्बन्ध, पूर्वजगत, लोक–ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना, ध्वनि–विसंरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य–दर्शनको विकास गरिरहेका छन् । आदिवासी चलचित्रमा भूगोल, पात्र, कथा, संगीत, भाषा र क्यामराको अवाचिक संकेतन केवल प्राविधिक संयोजन होइनन्; ती समुदायको विश्वदृष्टि, ज्ञान–परम्परा, सांस्कृतिक आत्म–चेतना र सामूहिक अस्तित्वलाई पुनरुत्पादन गर्ने जीवित सांस्कृतिक माध्यम हुन् ।
महोत्सवमा लिम्बू, नेवाः, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ ।
लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित 'जाइछै सौसरा' बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् ।
त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
यस महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिएको छ ।
Categorized in सिनेमा


