चलचित्र पत्रकार संघले पत्रकारहरुलाई सम्मानित गर्दै मनाए वार्षिकोत्सब
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ ८, शुक्रबार
चलचित्र पत्रकार सघले जेठ ७ गते बिहीवार २७औँ चलचित्र पत्रकारिता दिवस २०८३ मनाउने क्रममा दिवंगत पत्रकार तथा संघका पूर्व अध्यक्ष सिटौलालाई मरणोप्रान्त उक्त सम्मान अर्पण गरेको छ । स्मरणीय कुरा के छ भने पत्रकार सिटौलाले आफ्नो पत्रकारिताको करियरमा कहिले पनि कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण गरेका थिएनन् ।
कार्यक्रमका विशेष अतिथि महानायक राजेश हमाल, प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत उपस्थित वरिष्ठ चलचित्रकर्मीहरुले सिटौलालाई मरणोप्रान्त सम्मान अर्पण गरेका हुन् ।
चलचित्र पत्रकार संघ नेपालले चार महिनाअघि गत माघमा यो संसारबाट विदा भएका पत्रकार दिनेश सिटौलालाई बिहीवार दिउँसो काठमाडौंमा आयोजित चलचित्र पत्रकारिता दिवस–२०८३ मा राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिरहँदा कार्यक्रमस्थल एकाएक भावुक बनेको थियो । नक्सालस्थित लिसारा रिसेप्सनको हलमा दिवंगत पत्रकार दिनेश सिटौलाका बुवा गोकर्ण राज सिटौलाले उक्त सम्मान ग्रहण गरिरहँदा समारोहमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । प्रतिनिधि सभाको चुनावी यात्राका क्रममा अछाममा हृदयाघात भएपछि उपचारका लागि काठमाडौं ल्याइए पनि चिकित्सकले ४३ वर्षीय पत्रकार सिटौलालाई बचाउन सकेका थिएनन् ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीको सभापतित्वमा साे समारोहमा पत्रकार अनन्त वाग्लेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ राशिको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरियो ।
पत्रकार जयन सुब्बा मानन्धर तथा कुबेर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान– २०८३ द्वारा सम्मानित गरियो । त्यस्तै पत्रकार बैकुण्ठराज पुराजुलीलाई नगद ५१ हजार रुपैयाँ राशिसहितको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो भने पत्रकार सुरक्षा भट्टराईलाई पनि ५१ हजार रुपैयाँ राशिको स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएकाे थियो ।
रेडियो नेपालमा कार्यरत पत्रकार मिलन ढुंगानालाई भने नगद २५ हजार रुपैयाँ राशिसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान– २०८३ अर्पण गरियो ।
योसंगै नेपाल चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस बिहीवार भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष समीर बलामीले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण कार्यसमिति साथीहरूलाई विशेष धन्यवाद अर्पण गर्दै संघलाई साथ र सहयोग गर्ने विभिन्न संघ–संस्था तथा चलचित्रकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
समारोहमा राजेश हमाल, वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, अशोक शर्मा, दिनेश डिसी, ज्ञानेन्द्र देउजा, केपी पाठक, बद्री पंगेनी, ऋषि लामिछाने, नवल नेपाल, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, पल शाह, सुरक्षा पन्त, जितु नेपाल , तेरिया फाैजा मगर र निखिल उप्रेती लगायत दर्जनौँ चलचित्रकर्मी तथा चलचित्रसँग सम्बन्धित संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूमा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन र उपाध्यक्ष गाेपालकाजी कायस्थ , कलाकार संंघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, प्राविधिक संघका अधङ पुष्कर लामा, द््वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, नृत्य कलााकारसंघका अध्यक्ष जनक कार्की र गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासी आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई भव्य बनाउन पञ्चेबाजा समूहले प्रारम्भदेखि अन्त्यसम्म नै पञ्चे बाजा बजाएर समारोहलाई संगीतमय बनाएका थिए । कार्यक्रममा मोडल अस्मिता पुरीले ‘गैरी खेलको शिरै हान्यो’ गीतमा आकर्षक नृत्य गरेर ‘वान्स मोर’ पाइन् भने भ्वाइस अफ नेपाल प्रोसेष पाण्डेले दक्षिणा फिल्मको गीत गाएर कार्यक्रमलाई गम्भिर बनाए ।
समारोहलाई एभरेस्ट अस्पतालको मेडिकल टिम, रोयल फेसन, श्रीकेश हर्बल तेल, कञ्चनजंघा अगरबत्ती आदिले सहयोग गरेका थिए ।
Categorized in सिनेमा

