अब नेपालभाषाका फिल्म OTT ‘Newa-Flix’ मार्फत घरमै बसेर हेर्न पाइने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १६, शनिबार
नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ शनिबार सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्ट को आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स मा आयाेजित कार्यक्रममा याे प्लेट फर्म आरम्भ भएको घाेषणा गरिएको हाे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए। साथै इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, CEO दर्शनवीर शाक्य, किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल तथा विभिन्न कला–संस्कृतिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम इलोहं इन्टरटेनमेन्टकी अध्यक्ष प्रज्ञादेवी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो।
बोर्ड अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, “कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं। त्यो भाषा जोगाउने संघर्षको समय थियो। अहिले संघर्षको रूप फेरिएको छ—अब डिजिटलमै भाषा जोगाउनुपर्छ।”
उनले प्रविधिसँग नजोडिएको भाषा र सिनेमा टिक्न नसक्ने उल्लेख गर्दै ‘Newa-Flix’ जस्ता प्लेटफर्म समयको आवश्यकता भएको बताए।
“आजको पुस्ता मोबाइलमै छ। हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्नुपर्छ। अब नेपालभाषा सिमित घेराभित्र होइन, विश्व बजारमा पुग्नुपर्छ,” उनले भने।
डीसीले नेपाल चलचित्र विकास बोर्ड ले पुराना क्लासिक कृतिहरू—‘सिलु’ र ‘राजमती’ लगायतको डिजिटलाइजेशनमा जोड दिइरहेको जानकारी पनि दिए। “हामीले हाम्रा ऐतिहासिक फिल्म जोगाउनुपर्छ। डिजिटल आर्काइभ र OTT प्लेटफर्म नै अब संरक्षण र प्रवर्द्धनको प्रभावकारी बाटो हो,” उनले थपे।
उनले निजी क्षेत्रको यस्तो पहललाई बोर्डले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आवश्यक सहकार्यका लागि सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे। “बाँच्नु मात्र ठूलो कुरा होइन, आफ्नो संस्कृति समयअनुसार रूपान्तरण गर्दै जोगाउनु ठूलो कुरा हो,” उनको भनाइ थियो।
इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै ‘Newa-Flix’ सुरु गरेको बताए।
CEO दर्शनवीर शाक्यका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो। इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी दिँदै उनले दर्शकको साथ र सहयोगको अपेक्षा गरे।
“२०२२ सालतिर नेपालभाषामाथि बन्देज थियो, अहिले समय परिवर्तन भइसकेको छ। अब व्यावसायिक रूपमा सशक्त बन्ने बेला आएको छ,” उनले भने।
किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषा चलचित्र प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए। वरिष्ठ फोटोग्राफर राजभाई सुवालले फिल्म प्रदर्शनको स्वरूप रीलबाट OTT मा रूपान्तरण भएको उल्लेख गर्दै नेपालभाषा सिनेमा पनि नयाँ युगमा प्रवेश गरेको बताए।
आयोजकका अनुसार ‘Newa-Flix’ ले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ। साथै नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने दीर्घकालीन लक्ष्य लिइएको छ।
नेपालभाषा सिनेमा अब डिजिटल युगमा प्रवेश गरेको संकेत गर्दै ‘Newa-Flix’ लाई भाषा संरक्षण र व्यावसायिक विस्तारको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
Categorized in सिनेमा

