श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २८, बुधबार
धेरै सम्मान र पुरस्कार प्राप्त गरीसकेका गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’
ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
एकतर्फी प्रेमको पीडा र छोडेर जानेप्रतिको शुभेच्छा व्यक्त गरिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
गीतकार राईको शब्दमा तयार भएको गीतमा ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले संवेदनशील अनुभूति दिएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।
यसअघि पनि राईका केही गीत रेकर्ड भइसकेका छन्। शिला खनालले २०७५ मा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै मनमा बी राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राईको संयोजन र विमल भौकाजीको सम्पादनमा हालै सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ पाठकमाझ आइसकेको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्।
नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।
Categorized in साहित्य-कला

