नेपालभाषाको पहिलो म्युजिकल भिडियोका रुपमा जयश्री हारतीमां आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ७, मंगलबार
नेपालभाषाको सांगीतिक क्षेत्रमा परम्परागत सांगीतिक धरोहर दाफालाई आधार मानेर तयार गरिएको ‘जयश्री हारति मां’ दाफा म्युजिकल भिडियो प्रदर्शनी हुने भएको छ।
घिङताङ दाफा समाज, नेपालको प्रयासमा बनेको यस भिडियो को लम्बाइ ४५ मिनेट रहेको छ । भिडियोको निर्माण तथा परिकल्पना शारदा डंगोलले गर्नुभएको हो। निर्देशन दर्शन वीर शाक्यले गर्नुभएको यस प्रस्तुतिलाई पूर्णतया दाफा गीतमै आधारित गरी तयार गरिएको छ।
‘जयश्री हारति मां’ मा हारति अजिमाको भूमिकामा प्रेमा शाक्य देखिनेछन्। साथै, हास्य सम्राट मदनकृष्ण श्रेष्ठसहित सुजना बज्राचार्य, रोजिना सुवाल, सुजिना शाही, किशोर चिपालु, रबिना तुलाधर, नविन थेच्वमि, बिपश्यना शाक्य, देशना शाक्य, सुजना बज्राचार्य, सिताराम माकः, जीवन त्वाति, उजय शाही र विक्रम खड्गी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
दिपेन्द्र बज्राचार्य र शारदा डंगोलको परिकल्पनामा बनेको यस भिडियोमा छायांकन तथा सम्पादन मनोज रत्न शाहीले गर्नुभएको छ भने पृष्ठभूमि संगीत विनय महर्जनको रहेको छ।
नेपालमा दाफा संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो भिडियो नेपालकै पहिलो दाफा रेकर्डमा आधारित सांगीतिक प्रस्तुति हो। दाफा भनेको परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, बाजाको ताल र धार्मिक शब्दहरूको संयोजन हो, जसमा खिं, ताः, झ्याली र पोङ्गा जस्ता बाजाको प्रयोग हुँदै समूहमा बसेर पालैपालो भजन गाइन्छ।
निर्माता शारदा डंगोलका अनुसार यस लिरिकल भिडियोले दर्शकलाई दाफा संस्कृतिको गहिरो परिचय मात्र दिने होइन, सांगीतिक रूपमा पनि एक नवीन अनुभव दिलाउनेछ। उहाँले भन्नुभयो, “दाफा परम्परा नेपालको मौलिक सांस्कृतिक सम्पदा हो। यसलाई यसरी भिडियोमार्फत पुस्तान्तरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो।”
नेपालको मौलिक संस्कृतिको संरक्षण र प्रसारमा योगदान गर्ने विश्वासका साथ तयार गरिएको ‘जयश्री हारति मां’ दाफा लिरिकल भिडियो असोज ९ गते रञ्जना हल, न्यूरोड मा साँझको ६ बजे र ७ बजे गरी दुइ शो प्रदर्शन हुनेभएको छ ।
Categorized in साहित्य-कला

