STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २४, आइतबार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन् ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुने बताएका हुन् ।

कार्यक्रमको शुरुवात गर्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले महिलाहरुलाई सुर्तीमा आकर्षण गर्न उद्यमीहरुले विभिन्न छलछाम गरिरहेको बताए । उनले सामाजिक सञ्जाल र चलचित्रमार्फत महिलाले सुर्ती सेवन गर्नु पनि सामान्य हो अनि सुर्ती सेवन गरेर पुरुष र महिला बराबर हुन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको दृष्टान्त पेश गरे । इ सिगरेट र भेप संस्कतिमार्फत महिलालाई कुसंस्कारमा धकेलिरहेको पनि स्पष्ट पारे । अहिलेको परिस्थितिमा सुर्ती नियन्त्रणसम्वन्धी कानुन कार्यान्वयन र सुर्ती नियन्त्रणमा उद्योगी व्यवसायीको हस्तक्षेप विरुद्ध सशक्त आवाज उठाउन महिलाहरुको भूमिका अपरिहार्य रहेको धारणा उनले राखे ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले महिलामा सुर्ती प्रयोगको असर निकै गम्भीर हुने बताएका छन्। उनीहरूका अनुसार धुम्रपानले महिलामा क्यान्सर,  मुटुरोग तथा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले सुर्ती प्रयोग गर्दा गर्भपतन,  कम तौलका शिशु जन्मिने तथा समयभन्दा अगाडि बच्चा जन्मिने जोखिम बढ्ने गर्दछ। यसले मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष सर्मिला कार्कीले सुर्ती उद्योगले नीति निर्माण प्रक्रियामा पनि प्रभाव पार्ने प्रयास गर्ने गरेको बताइन । कर वृद्धि रोक्ने प्रयास,  कानून कार्यान्वयन कमजोर बनाउने प्रयास तथा नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने रणनीति उद्योगले अपनाउने गरेको उनले उल्लेख गरिन् ।

वातावरणविद डा अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणका लागि कानून भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन । विशेषगरी सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध,  सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रण तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचारलाई रोक्न अझ कडा कदम आवश्यक रहेको उनको भनाइ थियो। सुर्ती सेवनले जसरी मानव स्वास्थ्य विगारिरहेको छ, त्यसको सयौं गुणा वातावरण फोहर गरी विनास गरिरहेको उनले टिप्पणी गरिन् ।

Purna Duwal

Categorized in राष्ट्रिय