STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुरक्षित गर्भपतन गराउने बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार

जिल्लामा वर्षेनी गर्भपतन गराउने महिला बढीरहेका छन् । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा डोटीमा एक हजार ८९ महिलाले गर्भपतन गराएका थिए । उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य संस्थामा महिलाले उक्त सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा ३८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिला बढेको डा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अनिच्छित गर्भपतन गराउन पाउने व्यवस्था दिलाएकाले गर्भपतन गर्ने बढेका हुन् ।” नौ हप्तासम्मको गर्भ तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकोमा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिला बढी रहेको जनाइएको छ । गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था र सूचीकृत अर्थात सरकारी मान्यता प्राप्त स्वास्थ्यकर्मी रहेका कारण नौ हप्तासम्मको गर्भपतन गराउने महिला बढी देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । एक वर्षको अवधिमा ८७१ जनाले औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख छ । त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको सङ्ख्या १६६ रहेको छ भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किशोरीको सङ्ख्या ५२ रहेको छ । त्यस्तै १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पताललाई मात्रै छ । जिल्ला अस्पतालमा १२ देखि १८ हप्तासम्मको गर्भपतन गराउने व्यवस्था तथा उपकरण भएका कारण एउटै महिलाले वर्षको तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको जिल्ला अस्पतालमा गर्भपतन गराउने अधिकार पाएका चिकित्कसक गिरीश अवस्थीले बताउनुभयो । “महिला पुरुषले परिवार नियोजनका साधनको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो”, डा अवस्थीले भन्नुभयो, “पटकपटक गर्भपतन गराए ज्यान नै जोखिममा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउँछन्, कसरी सम्झाउने भनेकै मान्दैनन् ।” जिल्ला अस्पताल तथा सरकारी स्वास्थ्य संस्था बाहेका डोटीमा रहेका निजी क्लिनिक तथा औषधि पसलमा समेत गर्भपतन हुने गरेको स्थानीयहरु बताउँछन् । प्राय गरी कामको खोजीमा भारत गएका यहाँका पुरुषले घरमा आउँदा अस्थायी साधन प्रयोग नगर्ने र पछि गर्भ रहेपछि गर्भपतन गर्न अस्पताल आउने गरेको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था सामुदायिक विकास मञ्च ९सीडीएफ० का कर्मचारी दीपा सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को लापरवाहिले श्रीमतीले दुःख भोग्नु परेको छ, जसले घरेलु कामदार महिलालाई बढी समस्या भएको छ ।”
Categorized in राष्ट्रिय