बेलायतमा सम्पन्न आदिवासी फिल्म फेस्टिभलकाे अवार्ड ईटहरीमा प्रदान गरियो
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २३, आइतबार
बेलायतको एल्डरसट (Aldershot) मा गत २७ सेप्टेम्बर २०२६ मा सम्पन्न दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (Second Nepal Indigenous Film Festival – NIFF UK 2026) मा विभिन्न विधामा अवार्ड प्राप्त गर्न सफल कोशी प्रदेश तथा सिक्किमका चलचित्रकर्मीलाई इटहरीमा सम्मान तथा अवार्ड प्रदान गरिएको छ।
नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको आयोजनामा तथा इटहरी उपमहानगरपालिका वडा नं. ९ को संयोजनमा इटहरीस्थित पाँचतारे होटल रमादा मा भव्य समारोह आयोजना गरी विजेता चलचित्रकर्मी तथा महोत्सवमा सहभागी कलाकार र निर्देशकहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको सभापतित्व नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधानले गरेका थिए। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी प्रतिनिधिसभा सदस्य तथा वरिष्ठ कलाकार पूर्ण लिम्बू, आठराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारी, इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमाल, वरिष्ठ कलाकार पशुराम चौधरी, अभिनेत्री नीलम खवासलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिक्किम तथा सिलिगुडीबाट आएका चलचित्र निर्देशक नियरा सुब्बा, बिना लिम्बू, प्रजा प्रधान, सुखचन्द्र थापालगायत चलचित्रकर्मीहरूको समेत सहभागिता थियो। कार्यक्रम सञ्चालन पत्रकार मनोज दाहालले गरेका थिए।
महोत्सवमा उत्कृष्ट छोटो चलचित्र (Best Short Movie) को अवार्ड सागर केरुङ निर्देशित लिम्बू चलचित्र ‘तङसिङ’ ले प्राप्त गरेको थियो भने जुरी अवार्ड (Best Short Movie Jury Award) ‘चारदाम’ चलचित्रले जितेको थियो। त्यसैगरी उत्कृष्ट एआई वृत्तचित्र (Best AI Documentary) को अवार्ड ‘बिराटनगरके प्राचीन राजवंशी’ ले प्राप्त गरेको थियो।
सिक्किममा निर्मित ‘नुमाहाङमा’ चलचित्रबाट नियरा सुब्बाले उत्कृष्ट नवोदित निर्देशक (Best Debut Director) को अवार्ड प्राप्त गरिन्। त्यस्तै प्रकाश सुब्बाद्वारा निर्देशित लिम्बू चलचित्र ‘Mundhum, A Secret of Sam Sama’ ले उत्कृष्ट चलचित्र (Best Movie) को अवार्ड जितेको थियो।
कार्यक्रममा महोत्सवको अफिसियल सेलेक्सनमा परेका कोशी प्रदेशका ‘वंश’, ‘आँगन’, ‘Innocent Buffalo’, ‘The Divine Miracle’, ‘माजुरेको सम्बन्ध’ र ‘आरोही’ चलचित्रलाई प्रमाणपत्र वितरण गरिएको थियो।
यसै अवसरमा प्रतिनिधिसभा सदस्य, पूर्व ब्रिटिस आर्मी क्याप्टेन, लेखक, कवि, गीतकार, गायक तथा कलाकार पूर्ण लिम्बूलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै सिक्किमकी निर्मात्री हर्कमती सुब्बा, अभिनेत्री बिना लिम्बू, अभिनेता अयुब केसी, कलाकार तथा निर्माता रितेश पौडेल, मनिता तामाङ, प्रजा प्रधान, दार्जिलिङका सुखचन्द्र थापा, कलाकार पुरुषोत्तम कोइराला तथा निर्देशक बिनोद पुडासैनीलगायत महोत्सवमा सहभागी कलाकार तथा निर्देशकहरूलाई सम्मान गरिएको थियो।
समारोहमा संजोग लाफा मगरद्वारा निर्देशित वृत्तचित्र ‘बल्य्ढ्याङ्गढी’, अरबिन्द विश्वास निर्देशित ‘बिराटनगरके प्राचीन राजवंशी’ र सागर केरुङ निर्देशित ‘तङसिङ’ समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक पक्षले आदिवासी समुदायका भाषा, संस्कृति, परम्परा र पहिचानलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापासहित सम्पूर्ण अतिथि, चलचित्रकर्मी, सहयोगी तथा आयोजक संस्थाप्रति NIFF UK परिवारले आभार व्यक्त गरेको छ।
नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशले आयोजना गरेको उक्त सम्मान तथा अवार्ड वितरण समारोहले कोशी प्रदेश, सिक्किम तथा नेपाली आदिवासी चलचित्र क्षेत्रका सर्जकबीचको सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
Categorized in साहित्य-कला

