चलचित्र निर्देशक कार्कीको जन्मजयन्ती सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २३, आइतबार
चेतन कार्की स्मृति समाजकाे आयाेजनामा नेपाली गीत, साहित्य तथा चलचित्र क्षेत्रका बहुआयामिक व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८९औँ जन्मजयन्तीका अवसरमा राजधानीमा विशेष समाराेह सम्पन्न गरिएको छ।
चेतन कार्की स्मृति समाजद्वारा आयोजित कार्यक्रममा उहाँले नेपाली कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै विभिन्न व्यक्तित्वहरूले उहाँसँग जोडिएका अविस्मरणीय प्रसङ्ग र अनुभव सुनाएका थिए।
समारोहमा प्रारम्भमा एक मिनेट मौनधारण गरी दिवंगत कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। समाजका उपाध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रममा साहित्यकार राधेश्याम लेकालीले कार्कीका मुक्तकहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार टीका पहारीले कार्कीले आफूलाई चलचित्र अभिनयका लागि बम्बई पठाउँदा लेख्नुभएको पुरानो पत्र वाचन गर्नुभएको थियो। त्यसैगरी, ऋतु कँडेल र गीता पाण्डेले उहाँका चर्चित गीतहरू प्रस्तुत गरेर श्रद्धासुमन अर्पण गर्नुभयो।
समारोहमा डा गणेश गुरुङले कार्कीको संघर्षपूर्ण जीवनयात्रा र चलचित्र क्षेत्रमा स्थापित हुँदासम्मका रोचक प्रसङ्ग स्मरण गर्नुभयो। वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार श्रीपुरुष ढकाल तथा धर्मपत्नी गंगा कार्कीले पनि उहाँको राष्ट्रप्रेम, सरल जीवनशैली र सिर्जनात्मक योगदानबारे आफ्ना अनुभूति व्यक्त गर्नुभयो।
कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले कार्कीसँग चलचित्रमा काम गर्दाका अनुभव साझा गर्नुभयो।
समाजकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको अध्यक्षतामा सम्पन्न समारोहमा उहाँले चेतन कार्कीलाई राष्ट्र र समाजका लागि समर्पित एक विलक्षण स्रष्टाका रूपमा स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर सिर्जना र सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा रेडियो आहाका प्रबन्ध निर्देशक हेम सुवेदी, निर्देशक आकृति सुवेदी घिमिरे, गीतकार सघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा लगायत कलाकार तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।
विश्वास, कान्छी, कन्यादान जस्ता सुपरहिट चलचित्रका सफल चलचित्रमा गीत लेखेका कार्कीले विश्वास ,भुमरी र पहिलो प्रेम चलचित्रको निर्देशन गरेका थिए । निर्देशक चेतन कार्कीले उक्त चलचित्रका लागि गीतहरु पनि रचना गर्नु भएको छ । बैनीको दया छ भने र तीजको रहर वहांको सर्वकालीन लोकप्रिय गीत मानिन्छ ।
कार्यक्रमको सञ्चालन म्युजिक खबर डट कम का अध्यक्ष सुमन बैरागी पण्डितले गर्नुभएको थियो।
Categorized in राष्ट्रिय

