वैशाख ८ देखि सुर्खेतमा चौथो कर्णाली चलचित्र कार्यशाला हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ३, बिहिबार
कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो कर्णाली चलचित्र कार्यशाला आगामी वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले चौथोपटक आयोजना गर्न लागेको हो ।
गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै सम्पन्न भएको थियो । यसपटक भने अघिल्ला कार्यशालामा एडभान्स कोर्स सिकेका विद्यार्थी तथा नयाँ सहभागीलाई चलचित्रको पटकथासम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिएका छन्।
उनका अनुसार कर्णाली भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो । 'स्थानीय कथा र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले हामीले विगत चार वर्षदेखि निरन्तर रूपमा यो कार्यशाला सञ्चालन गर्दै आएका छौँ, ' उनले भने ।
कार्यशालामा दिनेश डिसीको मास्टर क्लास रहनेछ । त्यस्तै चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले पटकथा लेखनसम्बन्धी विशेष कक्षा लिनेछन् । छायाँकार निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन् भने फिल्म सम्पादक रूपेश मिजारले फिल्म सम्पादन विषयमा कक्षा सञ्चालन गर्नेछन् ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले तीनवटा वृत्तचित्र र दुईवटा लघु फिल्म निर्माण गर्ने कार्यक्रम रहेको छ । कर्णाली प्रदेशका १० जिल्लाबाट छनोट गरिएका २५ जना विद्यार्थीहरूले कार्यशालामा सहभागिता जनाउनेछन् ।
यो कार्यक्रम चलचित्र विकास बोर्ड को सहकार्य तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा आयोजना हुन लागेको हो ।
Categorized in साहित्य-कला

