लिम्बु फिल्मले जित्यो आदिवासी चलचित्र महोत्सव
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ ९, सोमबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ।
आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सबैको भाषा नेपाली हो, तर हामी जनजातिको आफ्नो भाषा छ, त्यसलाई पनि अगाडि बढाउनु पर्छ। हामीले आफ्नो भाषा बोल्न छाडेकै कारण त्यो नयाँ पुस्तासम्म पुग्न सकेको छैन। अहिलेका नयाँ पुस्तालाई आफ्नो भाषा आउँदैन, संस्कृतिका बारेमा ज्ञान निकै कम छ। त्यसैले हामीले मातृभाषाको प्रयोग गरी चलचित्र, साहित्य र गीत सङ्गीत निर्माण गर्नुपर्छ।”
उहाँले राष्ट्रियसभामा पेस गरिएको ‘चलचित्र नीति’ छलफलको क्रममा रहेकाले त्यसमा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्न आवश्यक पर्ने पक्ष समेट्ने प्रतिबद्धता गर्नुभयो।
‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यही असार ६ देखि सुरु भएको ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ मा मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरूको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धन गरिएको आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घले जनाएको छ।
असार छ गतेदेखि अायोजित तीन दिने महोत्सवमा लिम्बु भाषाको " चे " ले सर्वोत्कृष्ट चलचित्र का साथै सर्वोत्कृष्ट निर्देशक को पुरस्कार जित्न सफल भयो । यस चलचित्र का निर्देशक सागर केरुङ हुन् । यस्तै गरी मगर भाषाको " ट्याङ्गचलाक " का लेखक मेक बहादुर पुन मेजन ले सर्वोत्कृष्ट पटकथाकार र गुरुङ्ग भाषाको " मि थों" का लागि राज बहादुर गुरुङ्ग राजेशलाई सर्वोत्कृष्ट छायाङ्कन को पुरस्कार दिइयो ।
यस्तै गरी नेवार समुदाय को "स्रिंकिंग सिभिलाइजेशन अफ काठमाडौं भ्यालि"लाई सर्वोत्कृष्ट डकुमेन्ट्रि र मगर समुदाय को " खिल " लाई सर्वोत्कृष्ट शर्टफिल्म को पुरस्कार दिइयो ।
अायोजक का तर्फबाट महासंघका कार्य वाहक अध्यक्ष भुइसाल लामाको अध्यक्षतामा सम्पन्न सो महोत्सवको निर्णायक मा अग्रज पत्रकार विजयरत्न तुलाधर,प्रथम महिला छायाँकार शबनम मुखिया र तामाङ्ग फिल्मका अग्रज निर्देशक हिरालाल ब्लोन रहेका थिए ।
समापन समारोहमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसि, महोत्सव निर्देशक प्रतिमाया पुन मगर , महासंघ का पूर्व अध्यक्ष अमृत सुनवार ,पुर्व सांसद रिता माझी निर्णायक विजयरत्न तुलाधर लगायतले आआफ्नो कुरा राखेका थिए ।
Categorized in साहित्य-कला

