मिथिला शर्माले अर्पण गरे गुरु दक्षिणा स्वरुप सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण १४, बिहिबार
नेपालको कला क्षेत्रमा अति आदरणीय वरिष्ठ अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य तथा अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिएकी छिन् ।
अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरिएको हो ।
गुरु पूर्णिमाको अवसर पारेर नेपाल प्रहरी कलाकार संघले आयोजना गरेको तेस्रो स्रष्टा सम्मान-२०८३ कार्यक्रमअन्तर्गत कला, साहित्य, संगीत, नृत्य तथा हास्य क्षेत्रका पाँच जना विशिष्ट स्रष्टालाई सम्मान गरिएको हो ।
यस वर्षको गुरु पूर्णिमाको अवसर पारेर बुधवार राजधानीमा नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिएको थियो । प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबमा आयोजित समारोहमा नृत्यांगना विमला श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरिएको छ ।
त्यसैगरी गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ बाट सम्मान गरिएको छ ।
विभिन्न सांगीतिक तथा नृत्यात्मक प्रस्तुतिसहित आयोजना भएको कार्यक्रममा साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिएको छ । हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई हाडा एण्ड पाल हास्य वाङ्मय साधना सम्मानबाट सम्मानित गरिएको छ ।
नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
यसै वर्षदेखि पहिलो पटक स्थापना गरिएको ‘पूर्व प्रहरी कलाकार साधना सम्मान’ पूर्व प्रहरी प्रमुख तथा कलाकार अर्जुनजङ्ग शाहीलाई प्रदान गरिएको थियो । उक्त सम्मानमार्फत प्रहरी सेवामा रहँदै कला र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गरिएको आयोजकले जनाएको छ ।
सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाइ फूल तथा दुबोको माला लगाइ सम्मानपत्रसहित बन्दी खाम प्रदान गरिएको थियो । यद्यपि, सम्मानसँगै प्रदान गरिएको नगद राशिबारे भने कार्यक्रममै खुलाइएको थिएन ।
नेपाल पूर्व प्रहरी कलाकार संघकी वरिष्ठ सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई सधैं जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन् । उनले भनिन्– ‘गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको सुरुआत गरेकी हुँ । विगतले अंश माग्दैन । आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न पनि सकिँदैन । तर पनि उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाएजस्तो लाग्छ ।’
संघका संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्ने परम्परालाई निरन्तरता दिइएको उल्लेख गरे ।
कार्यक्रममा सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो भने संघका कोषाध्यक्ष गणेश गोपालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा गुरु वन्दनाबाट गरिएको थियो । साथै, कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
कलाकर्मीहरूलाई प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षकहरू तथा सम्बन्धित विधाका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । कार्यक्रममा कला, संस्कृति तथा संघको गतिविधिमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले नाचगानमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि पनि यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताए । त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई समेत प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग आबद्ध कलाकारहरूले विभिन्न विधाका गीत, संगीत र नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । संघकी वरिष्ठ सल्लाहकार तथा अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुतिका रूपमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
Categorized in राष्ट्रिय

