STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मारवाडी महिलाले मनाए गणगौर पर्व

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर, कञ्चनपुर कल्याणपुरका मारवाडी महिला सहभागी थिए ।
होलीको समापनसँगै चैत शुक्ल तृतीयाका दिन शङ्कर–पार्वतीलाई नयाँ पोशाक लगाई विभिन्न पूजा सामग्री भएको कलशका साथ जलाशय किनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन गरिन्छ । मैदा, घिउ र चीनीले बनाइने फूलझैँ आकारको मिठाइ घेवर बाँड्नुका साथै हातभरि मेहन्दी र इन्द्रधनुषी पहिरनमा सजिएका महिलाले यो अवसरमा लोकनृत्य र गीत गाएर मनाएका छन् ।
होलिका दहनको भोलिपल्ट चैत्र कृष्ण प्रतिपदादेखि चैत्र शुक्ल तृतीयासम्म ९१६ दिन० शङ्कर–पार्वती रूपी प्रतिमाको पूजा गरिने यो वर्षको गणगौर पर्व समापन भएको अवसरमा महोत्सव मनाइएको मारवाडी महिला मञ्चकी अध्यक्ष अनुराधा जोशीले बताउनुभयो । माता गौरी होलीको भोलिपल्ट माइत जाने र आठ दिनपछि भगवान् शिव लिन आएपछि चैत्र शुक्ल तृतीयाका दिन उनीहरुको बिदाइ गरिने कथामा आधारित पर्वको बुधबार समापन गरिएको हो । यो पर्वसँगै यो वर्षका लागि मारवाडी महिलाको सम्पूर्ण पर्व सकिन्छ ।
गणगौर पूजामा अविवाहिता कन्याले असल पतिका लागि र महिलाले अखण्ड सौभाग्य, घरपरिवारको सुख, समृद्धिका लागि मनाउने चलन रहेको अञ्जना पेडिवालले बताउनुभयो । गणगौर पर्व समापनसँगै मारवाडी महिलाले हरेक वर्ष पुनः आउन आग्रह गर्छन् ।
महिला मञ्चकी पूर्वअध्यक्ष कमला भन्सालीका अनुसार उमङ्ग, उत्साह र मस्तीको पर्वका रूपमा मनाइने पर्वमा एक छाक खाएर उपवास गर्ने महिला रङ्गीचङ्गी पोशाकमा बगैँचा पुगेर दुवो ल्याई गीत गाउँदै दुबोको सहयोगले दूधको अघ्र्य दिँदै गणगौरको पूजा गर्छन् । कडा धार्मिक अनुशासनको रूपमा मनाइने यो पर्वमा पूजाका लागि छुट्याइएको कोठामा सूर्यको प्रकाश पर्न दिनुहुँदैन भने श्रीमान्लाई समेत अन्तिम पूजाका दिन मात्र प्रवेशको अनुमति दिइन्छ । 
सबैभन्दा ठूलो शक्ति महिला भएको र उनीहरुकै उपासनाले घरपरिवारको संरक्षण हुने गरेको नागरिक समाजका अध्यक्ष तथा मारवाडी समुदायका अगुवा थानसिंह भन्साली बताउनुहुन्छ । नवविवाहिताले विवाहको पहिलो वर्ष अनिवार्यरूपमा मनाउनुपर्ने यो पर्वको अवसरमा आमाबुबाले छोरीलाई गच्छेअनुसारको कपडा र मिठाइ उपहार दिन्छन् । 
Categorized in राष्ट्रिय