STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मदनदास श्रेष्ठ लगायत लोहनी र तुलाधरलाई ‘वानीरा पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ बैशाख २८, शुक्रबार

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ वानिरा पुरस्कार अर्पण गर्नु भएको छ । सो समारोहमा सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा इन्जिनियर गिरीले नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण  मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

सोही समारोहमा इन्जिनियर गिरीले कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो । 

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा प्रा.पुष्कर लोहनीबाट माल्यार्पण गर्नु  भएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रबल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो । 

डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरोनाको कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न सो समारोहमा पुरस्कृतहरु प्रा.पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट गर्नु भएको थियो ।

Categorized in साहित्य-कला