STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २६, बुधबार

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप संशय पैदा गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको हो ।

सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा बुझ्दा लामिछानेविरुद्ध कुनै उजुरी/जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत भएको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रमा उल्लेख छ ।

सुप्रिम सहकारीको रकम हिनामिनाबारे रुपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा भने लामिछानेले ‘विनाधितो, विनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठका नौ ठाउँमा नाम भए पनि लामिछानेलाई प्रतिवादी बनाइएको छैन ।

यस्तै पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । पीडित बचतकर्ताले रवि लामिछानेको नामै तोकेर थप ४ जना र १४ कम्पनीविरुद्ध गत माघ २२ मा उजुरी दिएका थिए । यसअघि भदौमा जाहेरी परेपछि असोज १८ मा १९ जनाविरुद्ध सहकारी ठगी अभियोगमा कास्की अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेमाथि सूर्यदर्शन सहकारीको बचत अपचलनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुसन्धान गरिरहेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले कुनै उजुरी, छानबिन र हिनामिनामा संलग्न नरहेको भनी लामिछानेलाई पत्र थमाइनु सत्ताको दुरुपयोग भएको पूर्वमहान्यायाधिवक्ताहरू बताउँछन् ।

Categorized in राजनीति