STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिद्वारा कीर्तिपुर नपामा ज्ञापन पत्र, जात्रा अव्यवस्थित हुने आशंका !

Janjati Khabar – Janjati Khabar | २०८३ श्रावण १८, सोमबार

कीर्तिपुर । प्रत्येक वर्ष भाद्र १ गते कीर्तिपुरमा भव्यताका साथ कीर्तिपुरबासीको आराध्यदेव बाघभैरवको जात्रा हुने गर्दछ । यस वर्ष २०८३ भाद्र १ गतेका लागि पनि बाघभैरव जात्राको तयारी भइरहेको छ । बाघभैरव मन्दिर कीर्तिपुर नगरपालिका १ वडामा रहेको छ ।  


तर, यस वर्षको बाघभैरव जात्रामा केही समस्या उत्पन्न भएको विषय समाहित गरी बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिले भाद्र १ गते हुने बाघभैरव जात्राको सन्दर्भमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुखबाट समस्या समाधान गरी पाऊँ भन्ने विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

आज सोमबार बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारीहरु एवं विभिन्न क्षेत्रका व्यक्तित्वहरु एवं संचारकर्मीहरुको उपस्थितिमा बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुरुगोविन्द महर्जनले ज्ञापन पत्र वाचन गरी वाचन पश्चात् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरिएको थियो ।

समस्या समाधान गरी पाऊँ भन्ने विषयक ज्ञापन पत्रमा उल्लेख गरेको छ, ‘बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारीहरु र कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष बसेर छलफल गरी प्रत्येक वर्ष श्रावण महिनाको १० गते बाघभैरव मन्दिरको ढोका अगाडि राखेको चन्दा बाकस (सेफ) खोल्ने सहमति भए बमोजिम मिति २०८२ श्रावण १० गते शनिबारका दिन दिउँसो १ः३० बजे वडा १ का वडाध्यक्ष इच्छाकुमार महर्जनको रोहवरमा चन्दा बाकस खोलिएकोमा खोल्दा जम्मा रु. १,०६,८५०/– (एक लाख छ हजार आठसय पचास) भएको थियो । सो रकम कीर्तिपुरस्थित कृषि विकास बैंक लि.मा खोलिराखेको बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिको खातामा जम्मा भएको थियो ।’

पत्रमा यस वर्ष २०८३ भाद्र १ गते सिंह संक्रान्तिका दिन बाघभैरवको पर्व पूजा तथा जात्रा हुने भएकोले खर्च पर्चको लागि विगत वर्षमा छलफल तथा निर्णय भए बमोजिक श्रावण १० गते चन्दा बाकस खोल्न बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारीसहित २०८३ श्रावण १ गते पत्र बुझाउन वडा १ कार्यालयमा वडाध्यक्ष इच्छाकुमार महर्जनलाई भेटघाट गर्न गएको व्यहोरा उल्लेख गरिएको छ ।



उक्त पत्रमा भनिएको छ, ‘कीर्तिपुर नगरपालिका वडा १ का वडाध्यक्षज्यूलाई भेटघाट गर्न जाँदा पत्र बुझ्न र कुराकानी गर्न समेत इन्कार गर्नु भई उल्टै समितिका पदाधिकारीहरुलाई गाली गलोज गरी चन्दा बाकस खोल्न पनि आउने छैन । तिमीहरु वडा कार्यालयमा बस्न पनि कुनै अधिकार छैन भनी हामीलाई फर्काइयो ।’

समितिका अध्यक्ष दुरुगोविन्द महर्जनद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा वडा कार्यालयको रोहवरमा गठिन बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारीहरु जस्को काम, कर्तव्य र अधिकारभित्र बाघभैरव कम्पाण्ड भित्रका सबै कार्यहरु छलफल गरी गर्नसक्ने अधिकार प्रत्यायोजन गरिराखेकोमा वडा कार्यालयबाट त्यस समितिको कुनै अधिकार छैन भन्नु उपयुक्त लागेन भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘अब नजिक आइरहेको बाघभैरव जात्राको लागि के कस्तो गर्ने र गर्न सकिने छ । नगर प्रमुखज्यूबाट वडा अध्यक्ष र यस बाघभैरव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारीहरुबीच समन्वय कायम गराई यथोचित निर्णय गराई दिन हुन सादर अनुरोध गर्दछौं ।’



Categorized in उपत्यका