
प्रसाईंलाई अन्ततः पक्राउ
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौँ - विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।
बिहीबार (चैत २८) साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईं पक्राउको बचाउ गर्दै खोजी जारी रहेको जनाएको थियो ।
प्रसाईंलाई शुक्रबार (चैत २९) बिहान झापाको भद्रपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।
प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो ।
त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईंसहित उनका अंगरक्षक खड्का भारत पुगेका थिए ।
चैत १५ गते रातिदेखि नै ब्युरोको टोली प्रसाईंको खोजीमा लागेको थियो । प्रसाईं चैत १५ गते ललितपुरस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । पुष्करलाई ब्युरोकै टोलीले यसअघि नै पक्राउ गरिसकेको छ । प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए ।
Categorized in राजनीति