STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल टी–२० विश्वकपमा छनोट, ओमान ३८ रनबाट पराजित

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन ३०, बिहिबार

काठमाडौं - नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् । नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा भएको विश्वकपमा नेपाल सहभागी भएको थियो । 

ओमान अहिले सुपर सिक्सका खेलहरू चलिरहेका छन् । नेपालले सुपर सिक्समा लगातार दुई खेल जितेर चार अंक बटुलेको थियो भने समूह चरणमा विजेता रहँदै दुई अंक पाएको थियो । त्यसअनुसार नेपालको ६ अंक पुगेको छ ।

अब सुपर सिक्समा रहेका तीनवटा टिमहरूको मात्र ६ अंक पुग्नसक्ने समीकरण बनेको छ । शीर्ष तीन टिम विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन् । 

बुधबार कतारले जापानलाई पराजित गरेपछि नेपाल र ओमान ६ अंकसहित छनोटमा सुरक्षित भएका हुन् । नेपालले बुधबार ओमानलाई पराजित गरेको थियो ।

बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

नेपालले शुक्रबार सामाओसँग खेल्नेछ । ओमानले शुक्रबार नै जापानसँग खेल्नेछ । सुपर सिक्समा कतारले ३ खेल खेल्दा २ अंक बटुल्यो र उसले अब एउटा खेल खेल्न बाँकी छ । 

नेपालले अब सुपर सिक्समा सामाओसँग खेल्नेछ । विश्वकपमा छनोट हुनका लागि तेस्रो टिमको टुंगो सुपर सिक्सका बाँकी खेलहरूमा भर पर्नेछ । तेस्रो टिमका लागि यूएई, जापान, सामोआ र कतारबीच प्रतिस्पर्धा छ । यसमध्ये यूएईको सम्भावनामा धेरै छ ।

Categorized in खेलकुद