नृत्यकलाविद वीणा जोशी राजभण्डारी र ई. बदन लाल न्याछ्योँ जोशी रिसर्च ईन्ष्टिच्यूटबाट सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ७, सोमबार
संस्कृति शिरोमणी हरिराम जोशी बाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटको आयोजनामा आइतवार सम्पन्न एक समारोहबीच कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ प्रदान गरिएको छ ।
२०२४ मै स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटका संस्थापक इतिहास शिरोमणि हरिराम जोशीकी अर्धाङ्गिनी स्वर्गिय कदम बाबा जोशीको स्मरणमा स्थापित कदम पुरस्कार २०८२ बाट वीणा जोशी राजभण्डारी सम्मानित हुनुभएकी छिन । त्यस्तै हरिराम जोशी संस्कृति पुरस्कार यस पटक ई. बदनलाल न्याछ्योँलाई प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वका प्रशंसामा आयोजक संस्थाका संस्थापक अध्यक्ष हरिराम जोशीले पौराणिक कालमा मात्र नभै जेन जी आन्दोलनपछि नेपालको संकटपूर्ण अवस्थालाई चिर्न समेत महिला प्रधानमन्त्रीको उल्लेखनीय योगदान रहेको चर्चा गर्नुहुँर्दै नेपाली समाजमा महिलाको भूमिकालाई पनि बराबरी अग्रस्थानमा राख्न पदम पुरस्कारको स्थापना गरिएको स्मरण गर्नुभयो ।
राष्ट्र र समाजलाई गतिवान बनाउनेहरु नै महामानव हुने आदर्शलाई जीवन्त तुल्याउन उक्त दुई पुरस्कारको स्थापना गरिएकोमा यस पटक नेपाली परम्परागत नृत्यकलाका ज्ञाता वीणा जोशीज्यूले यस क्षेत्रमा अध्ययन अध्यापन गर्दै नेवार समुदायका परम्परागत मुकुण्डो नाच (नृत्य संस्कृति) जस्तो गहकिलो पुस्तक तयार गर्नुभएकोमा सम्मानित गर्ने निर्णय भएको बताउनु भयो ।
त्यस्तै नेपाली संस्कृति भित्र परम्परागत संगीतको महत्वलाई आत्मबोध गरेर मल्लकालीन ३६ रागको प्रस्तुतिको निरन्तरताकालागि ललितपुर महानगरलाई संगीतको शहर तथा जेष्ठ पूर्णिमा (ज्याः पुन्ही)को दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा पुनः स्थापित गर्न सफल ई. बदन लाल न्याछ्योँज्यूको योगदानको कदर स्वरुप हरिराम जोशी संस्कृति पुरस्कार २०८२ प्रदान गरिएको जानकारी गराउनु भयो ।
ईतिहासविद प्रा.डा. वीणा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी त्रि.वि.का पूर्वउपकुलपति प्रा. केदार भक्त माथेमाज्यूले राज्यको दायित्वमा पर्नुपर्ने कार्य समेत गर्दै आएका जोशी रिसर्च सेन्टरको खुलेर प्रसंशा गर्नुभयो ।
“राज्यले जसरी पुननिर्माण जस्ता कार्यहरुले संस्कृतिका भौतिक पक्षलाई संरक्षण गर्ने प्रयास गरेको देखिन्छ, त्यस्तै यस विषयमा विधिवत र अनुसन्धानमूलक अध्ययन गर्नेहरुकालागि सबै तहमा छात्रवृतिका योजना स्थापित गर्न जरुरी छ” उहाँले भन्नुभयो, “ईतिहासको सोधखोज तथा यहाँको संस्कृतिको अध्ययनमा जसरी मेरी स्लसर लगायतका विद्वानहरुको अगाडी उनलाई सघाउने नेपाली संस्कृतिविदहरु ओझेलमा परे, अब त्यस परिस्थिति पनि सुधार्नु पर्छ, यसकालागि जसरी विदेशीहरु छात्रवृतिमार्फत यहाँ निर्धक्क अध्ययन गर्छन, त्यस्तै नेपालीहरुले पनि आफ्नै संस्कृति लगायतका क्षेत्रमा निर्धक्क लागिरहन राज्यले उत्प्रेरणा बढाउने नीति लिनु अति आवश्यक छ।”
कार्यक्रममा कदम पुरस्कार २०८२ बाट सम्मानित विणा जोशी राजभण्डारीले आफू नृत्यकला क्षेत्रको भएको नाताले पुस्तक लेख्ने अभिप्रेरणाले कमसेकम आफ्नो नेवाः समुदायभित्रको मुकुण्डोनाचहरुबारे ४ दशक देखि अध्ययन गर्दै आएकोमा सदैव आफ्ना गुरुरुपी हरिराम जोशीज्यूले चाँडो पुस्तक प्रकाशनमा ल्याउन घच्घच्याइरहनु भएको स्मरण गर्नुभयो ।
यस वर्ष संस्कृति पुरस्कारबाट सम्मानित ई. बदनलाल न्याँछ्योज्यूले आफू प्राविधीक क्षेत्रको भएतापनि अभिलेखीकरण कार्यप्रतिको लगावले संस्कृति संरक्षणमा आकर्षित भएको बताउनुभयो । उहाँ पनि स्वयं हरिराम जोशीकाे सामिप्यता पश्चात उहाँको सल्लाह सुझाव सहितले आफ्नो कार्यहरुमा थप सफलता हासिल भएकोे सम्झदै उहाँकै हातबाट संस्कृति पुरस्कार प्राप्त भएकोमा थप जिम्मेवारीबोध भएको बताउनुभयो ।
“पुराना भौतिक र अभौतिक दुबै सम्पदाहरुलाई सके संरक्षण गर्न
उक्त कार्यक्रमका अतिथि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले नेपालको अमूर्त सम्पदाको सूचीकरण कार्यमा यःमरीको विशेषता सफलतापूर्वक स्थापित गरिएको, ललितपुरलाई क्रियटिभ सिटी अफ म्यूजिकका रुपमा दर्ता भइ मान्यता प्राप्तिको कार्य भैरहेको उपलब्धिबारे चर्चा गर्नुभयो । उहाँले सबै भन्दा लामो दिनका रुपमा रहेको ज्याः पुन्हीको दिनलाई कमसेकम राष्ट्रिय संगीत दिवसका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्कृतिविद प्रकाश दर्नालले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा जोशी रिसर्च सेन्टर तथा आयोजक परिवारका तर्फबाट शुवरत जोशीज्यूले आफ्नो हजुरबुबाको सत्कर्महरुको चिनारीबोधका रुपमा स्थापित दुबै पुरस्कारहरुको चीरकाल सम्म निरन्तरताकालागि प्रतिवद्धता सहित धन्यबाद ग्यापन गर्नुभएको थियो ।
Categorized in साहित्य-कला

