'टिका' तीजमा रिलिज हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १५, मंगलबार
भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको नारीप्रधान भनिएको चलचित्र चलचित्र 'टिका: स्टेटलेस सोल'को प्रदर्शन मिति तय गरिएको छ । याे चलचित्र निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्'सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रको निर्माणमा भविष्य फिल्मस्'सँग थर्ड आइ आर्ट्स प्रालीले सहकार्य गरेको छ ।
अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै अभिनेता निर्मल शर्मा प्रमुख अभिनयमा रहने चलचित्र यहि वैशाख तेस्रो साताबाट फ्लोरमा जाँदैछ । शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्रको यतिबेला वर्कसप सकिएसँगै स्कृप्टलाई अन्तिम रूप दिँदै लोकेशन लक गर्नेक्रममा निर्माण टिम छ ।
सुपरहिट चलचित्र ‘जेरी अन टप’ निर्मात्री भविष्य खड्का फिल्मको निर्माता हुन् । फिल्मको पटकथा विश्वास तिम्सिना 'बिटी कान्छा'ले लेखेका छन् । गत वर्ष रिलिज चलचित्र 'जेरी अन टप'पछि भविष्य र बिटी कान्छाको यो दोस्रो सहकार्य हो । यो चलचित्रमा संगीत कालिप्रसाद बाँस्कोटाको रहनेछ ।
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा 'टिका'ले बोल्ने निर्माण टिमको भनाइ छ । चलचित्रमा तेजविक्रम केसी कार्यकारी निर्माता छन् ।
Categorized in सिनेमा

