STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चारजनालाई ‘वानीरा पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ७, सोमबार

वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । 

समारोहमा ई.गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्र मानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक श्री मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।

सोही समारोहमा संस्थापक गिरिले ‘आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरिलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो । 

साथै किशोरावस्थादेखि नै समाजसेवामा सदैव जागरुक भई खास गरेर काठमाडौँ महानगरपालिकाको विकासमा मन, वचन र कर्मले समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिएको छ ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो । 

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु, वानीरा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।

Categorized in साहित्य-कला