STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डद्वारा चलचित्रको डिजिटाइजेशन गरिदिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष १६, बुधबार

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन गरिदिने भएको छ । सो कार्यका लागि आवेदन आह्वान गरेको छ।

चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी चलचित्रलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यस कार्यमा सहभागी हुन इच्छुक चलचित्र निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्नेछ। डिजिटाइजेशन प्रक्रियामा सहभागिताका शर्त, आवेदन फाराम तथा आवश्यक विवरण चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट www.film.gov.np तथा बोर्डको सूचना पाटीमा उपलब्ध रहेको जनाइएको छ।

यस सम्बन्धमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्रहरू हाम्रो सांस्कृतिक र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै डिजिटलाइजेशन अत्यावश्यक भएको बताए। अध्यक्ष डिसीले भने,

“पुराना स्वदेशी चलचित्रहरू केवल मनोरञ्जन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका दस्तावेज हुन्। डिजिटाइजेशनमार्फत यस्ता चलचित्रको संरक्षण गर्नु आजको आवश्यकता हो। यस कार्यक्रमले हराउँदै गएका चलचित्रहरूलाई सुरक्षित राख्दै नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ।”

चलचित्र विकास बोर्डले यस कार्यक्रममार्फत पुराना स्वदेशी चलचित्रको दीर्घकालीन संरक्षण, अध्ययन–अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Categorized in सिनेमा