STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ग्लोबल नेपाली फिल्म अवार्ड अर्को वर्ष अप्रिलमा हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ३०, मंगलबार

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ को पूर्वनिर्धारित मिति तथा कार्यक्रमस्थलमा परिवर्तन गरिएको सम्बन्धमा आयाेजकहरुले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ  ।

Bhara Entertainment Australia, Nepal Film Society (NFS) र Global Nepali Film Award LLC, USA को संयुक्त आयोजनामा डिसेम्बर १७, २०२६ मा सिड्नी, अष्ट्रेलियामा आयोजना गर्ने गरी निर्धारित गरिएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरिएको हो ।

नेपालमा भएको प्राकृतिक विपद्बाट भएको जनधनको क्षति तथा त्यसबाट उत्पन्न राष्ट्रिय संवेदनशीलतालाई मध्यनजर गर्दै अवार्डको तयारी, नेपाली कलाकार तथा चलचित्रकर्मीहरूको सहभागिता र अन्तर्राष्ट्रिय प्रचार–प्रसारलाई थप व्यवस्थित, प्रभावकारी र गरिमापूर्ण ढंगले अघि बढाउने उद्देश्यले नयाँ मिति १० अप्रिल २०२७, शनिबार  तय गरिएको हो। कार्यक्रम Wesley Conference Centre Sydney, NSW 2000, Australia मा हुने बताइएको छ ।

यस कठिन घडीमा आयोजक संस्थाहरू सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुकासाथै, विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगी हातहरूप्रति आयाेजकहरुले कृतज्ञता पनि प्रकट गरेका छन्  ।

“Nepali Cinema: Village to Globe” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई विश्वमञ्चमा थप स्थापित गर्ने, नेपाली चलचित्रकर्मीहरूको सिर्जना, प्रतिभा र योगदानलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने तथा विश्वभर रहेका नेपाली समुदायबीच चलचित्रमार्फत भावनात्मक, सांस्कृतिक र सिर्जनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजक संस्थाहरूले लिएका छन्।

नयाँ मितिमा आयोजना हुने कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक संस्थाहरू आवश्यक तयारीमा जुटिरहेका छन्। कार्यक्रमको विस्तृत तयारी, सहभागी कलाकार तथा चलचित्रकर्मीहरूको विवरण, अवार्डका विधा, मनोनयन तथा अन्य कार्यक्रमसम्बन्धी जानकारी आगामी दिनमा संयुक्त रूपमा सार्वजनिक गरिने कुरा अरुण श्रेष्ठ   Bhara Entertainment Australia, कृष्ण मल्ल Nepal Film Society (NFS), नवराज श्रेष्ठ Global Nepali Film Award LLC र  रुपेश भट्टराई Bhara Entertainment Australia द्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Categorized in सिनेमा