क्रिटिक्स फिल्म अवार्डमा हरिवंश आचार्य र आना शर्मा उत्कृष्ट घाेषित
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ २७, बुधबार
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ ।
समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ ।
समाजले यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निष्पक्षता, पारदर्शिता र व्यावसायिक मूल्यको बलियो मानकका रूपमा स्थापित गर्दै आएको दावी गरेको छ ।
सार्वजनिक नतिजाअनुसार ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक बनेका छन् । उत्कृष्ट पटकथाको अवार्ड पनि नवीन चौहान र सुरज कटुवालले ‘ऊनको स्वीटर’ मार्फत प्राप्त गरेका छन् । यस्तै, उत्कृष्ट पार्श्व संगीततर्फ कोबिद बज्र सम्मानित भएका छन् ।
अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित भएका छन् भने ‘रमिताको पिरती’ की आना शर्मा उत्कृष्ट अभिनेत्री चुनिएकी छन् ।
प्राविधिक विधातर्फ ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादनतर्फ सम्मानित भएका छन् ।
क्रिटिक्स फिल्म अवार्ड २०८२ का विजेताहरू
उत्कृष्ट फिल्म: ऊनको स्वीटर
उत्कृष्ट निर्देशक: नवीन चौहान (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेता: हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री: आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथा: नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायाङ्कन: सुशन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)
उत्कृष्ट पार्श्व संगीत: कोबिद बज्र (ऊनको स्वीटर)
समाजले २०८१ र २०८२ सालको अवार्ड संयुक्त रूपमा भव्य समारोहका बीच वितरण गर्ने तयारी भइरहेको जनाएको छ। मूल्याङ्कन प्रक्रिया सम्पन्न भइसकेकाले पारदर्शिता र व्यावसायिक धर्मलाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गरिएको अध्यक्ष सामीप्यराज तिमल्सिनाले जानकारी दिएका छन्।
समाजले छनोटमा पर्न सफल सम्पूर्ण फिल्मकर्मी, प्राविधिक तथा स्रष्टाहरूलाई बधाई दिँदै नेपाली चलचित्रको कलात्मक सौन्दर्य र व्यावसायिक मर्यादा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ। पुरस्कार वितरण समारोहको मिति र स्थानबारे भने छिट्टै विशेष सूचनामार्फत जानकारी गराइने जनाइएको छ।
Categorized in सिनेमा

