STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

कीर्तिपुरको १ र १० वडामा प्रत्येक शनिवार “नेवाः उत्सव” : उत्सव पहिचानयोग्य होस्

Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ माघ २९, मंगलबार

हाल, प्रत्येक शनिबार कीर्तिपुर नगरपालिकाको १० वडाभित्र पर्ने चिथु–इताछेँ टोलको सडक, जुन सडकलाई सम्पदामार्गको रुपमा पहिचान दिइएको छ, त्यहाँ कीर्तिपुर गाईड एशोसिएसनको आह्वानमा प्रत्येक शनिवार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म नेवाः उत्सवको रुपमा मनाइँदै आइरहेको छ र गएको शनिबारबाट उक्त नेवाः उत्सवले तेस्रो हप्ता पार गरिसकेको छ । कीर्तिपुर गाईड एशोसिएसनको यो एक उदाहरणीय पाईला हो ।

गएको शनिबारदेखि उक्त सम्पदामार्गभित्र पर्ने कीर्तिपुर नगरपालिका १ वडाले पनि बाघभैरव–लायकू टोलसम्म नेवाः उत्सवलाई श्रीगणेश गरेको छ । यो पनि एक सकारात्मक पक्ष हो ।

नेवाः उत्सवमा सहभागी हुने कीर्तिपुर नगरभित्रका र वाहिरका जनसमुदायहरुले मात्र खाने स्टलहरु मात्र देखियो, कीर्तिपुरको पहिचान, उक्त सम्पदामार्गको पहिचानरुपी केही दृष्यहरु देखिएन भनी आ–आफ्ना गुनासाहरु पनि पोखेका छन् । यस विषयमा कीर्तिपुर गाईड एशोसिएसनका सम्बन्धित सदस्यहरुले नेवाः उत्सव मात्र सुरुवात भएको र डमीको रुपमा प्रयोगात्मक उत्सवको रुपमा थालिएको जानकारी दिँदै भोलिका दिनमा कीर्तिपुर नगरको पहिचान दिने विभिन्न दृष्यहरु समावेश गर्ने जानकारी दिएका छन् ।

वास्तवमा भन्नु पर्दा, कुनै पनि उत्सव महोत्सवमा पहिलो प्राथमिकता भनेको उक्त उत्सव एवं महोत्सवको पहिचान हो । स्थान विशेष, कला–संस्कृति–संगीत विशेष, रहनसहन–परम्पराको ऐतिहासिकता विशेषलाई पहिलो प्राथमिकतामा राखी उत्सव एवं महोत्सवको आयोजना गर्नुपर्ने आधारहरु हुन् । खाद्य पदार्थ भनेको दोस्रो प्राथमिकतामा पर्ने आधारहरु हुन् ।

त्यसैले अबका आउने प्रत्येक शनिबारको नेवाः उत्सवमा कीर्तिपुर गाइड एशोसिएसनले उत्सवमा सहभागी हुने सम्पूर्णलाई हेर्ने माध्यमलाई पहिलो प्राथमिकतामा राखी, खाने आधारलाई दोस्रो प्राथमिकतामा राखी नेवाः उत्सवलाई कीर्तिपुर नगर एवं सम्पदामार्गभित्र लुकेका पहिचानलाई उजागर गरी पहिचानयोग्य नेवाः उत्सवको रुपमा रुपान्तरण गरिने छ भन्ने आशा गर्दछौं ।

पहिचानयोग्य नेवाः उत्सव आकर्षक एवं उत्कृष्ट पार्नको लागि कीर्तिपुर नगरपालिका एवं सम्बन्धित वडाबाट कीर्तिपुर गाइड एशोसिएसनलाई पूर्णरुपमा आर्थिक तथा भौतिक सहयोगको खाँचो पर्छ नै । नेवाः उत्सव सफल हुनु भनेकै नगरपालिका र सम्बन्धित वडाको गौरवको विषय हुन्छ नै । यस्मा दुईमत छैन । 

Categorized in उपत्यका