
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

काठमाडौं - हिउँद सकिनै लाग्दा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार पानी परेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ भने पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ ।
शुक्रबार मध्यान्हसम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा मापन भएको छ भने कास्कीको माछापुच्छ्रे क्याम्पमा २४।८ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ । रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । हुम्लामा पनि बाक्लो हिउँ परेको छ । हल्का वर्षा भएसँगै काठमाडौं उपत्यकाको मौसम चिसिएको छ ।
Categorized in स्वास्थ्य-मौसम