
कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीले पाउने भए हरितारा चलचित्र पुरस्कार
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख ८, सोमबार

वि.सं . २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू तथा आफ्ना श्रीमान् हरि शमशेरको नाममा अक्षयकोष राखि स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।
हरितारा चलचित्र पुरस्कारको संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले वि.सं .२०८० र ०८१ सालको गरी दुइ वर्षको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता टिका पहारी तथा अभिनेत्री रेजीना उप्रतीलाई प्रदान गर्ने गर्ने भएको छ ।
विगत चार दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हकहितका साथै नेपाली कला मम्मांत एवं नेपालको गौरव देश विदेशसम्म पुऱ्याउन महत्वपूर्ण योगदान दिएका अभिनेता टिका पहारीलाई २०८० सालको हरितारा चलचित्र पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
यसैगरी दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्म उद्योगमा अभिनय कलाको माध्यमबाट चलचित्र र पेशाकर्मीका हकहितमा काम गर्दै आएकी अभिनेत्री रेजीना उप्रतीलाई २०८१ सालको हरितारा चलचित्र पुरस्कार अर्पण गर्ने निर्णय भएको हो । लिखतसहित जनही २५ हजार रुपैयाँ राशीको थैली पुरस्कृत व्यक्तित्वलाई प्रदान गरिने छ ।
यस अघि हरितारा चलचित्र पुरस्कार वसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डिसी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला आदिलाई प्रदान गरिएको छ ।
बैठकले यसै वर्षदेखि नगद दश हजार रुपैयाँ राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ । स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी विष्णु सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिवर्तन नेपालको वैशाख ५ गतेको बैठकले श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना तथा निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियरलाई अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ ।
परिवर्तन नेपालको सोही बैठकले नेपाली चलचित्रको विकाश, विस्तार प्रवर्द्धनमा क्रियाशील गंर चलचित्र निर्माण, निर्देशन र अभिनय गर्दै आएका अभिनेता रविन्द्र सिंह बानियाँ, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल छन्दे, अभिनेता सुनिल कटुवाललाई परिवर्तन–चलचित्रकर्मी विशेष सम्मान–२०८१ ले सम्मानित गर्ने निर्णय गरेको छ ।
साथै सञ्चारकर्मी तुलसी गिरी भावुक, सञ्चारकर्मी कृष्ण भुसाल तथा सञ्चारकर्मी कमला जोशीलाई परिवर्तन चलचित्र पत्रकारिता सम्मान–२०८१ प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ तथा शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।
२०८२ साल जेठ महिनाको पहिलो हप्तामा विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान अर्पण गरिने छ । समारोहका आयोजनाका लागि निर्देशक देवेन्द्र पाण्डेलाई कार्यक्रमको संयोजन र निर्देशक माधव राज खरेललाई कार्यक्रमको सञ्चालनको जिम्मेवारी दिने निर्णय गरिएको परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Categorized in साहित्य-कला