ओली–लेखक, सुदन–बालेनविरुद्धको उजुरीमा तत्काल कारबाही अगाडी नबढ्ने
Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन ३०, बिहिबार
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए।
‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडी बढाउनुपर्छ भन्ने पक्षमै जोड गरिरहनु भएको थियो। तर उहाँहरूले पनि वर्तमान अवस्था र कानुन बुझ्नु भएको छ। हामीले यसरी अगाडी बढ्दा आउन सक्ने अप्ठेराबारे बुझायौँ। सबै सुरक्षा निकाय यसमा एकमत भएपछि उहाँहरू पनि सहमत हुनुभयो’, एक उच्च सुरक्षा अधिकारीले भने।
उनका अनुसार प्रहरी लामो परामर्श र छलफलपछि तत्काललाई पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङलगातविरुद्ध यसबिचमा परेका उजुरी तामेलीमा राख्ने निष्कर्ष नजिक पुगेको छ।
गृहमन्त्री अर्यालले पूर्वसरकार प्रमुखलाई तत्काल पक्राउ गरेर अगाडी बढ्न दबाब दिएपनि जेनजीतर्फ भने कारबाही नगर्न र पक्राउ गरिएकालाई पनि रिहा गर्न आदेश दिएका थिए। अर्यालको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर हिरासतमा राखेका आन्दोलनरत पक्षका झण्डै २ सयलाई रिहा गरिसकेको छ।
उनीहरूलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको र पछि आवश्यक पर्दा फेरि मुद्दा अगाडी बढ्ने प्रहरी स्रोतको भनाई छ। ओली र लेखकविरुद्ध जेनजी समूहका अगुवा सुदन गुरुङले नै प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए। प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सुदन र बालेनविरुद्ध पनि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उजुरी दिएको थियो। यो उजुरी पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।
Categorized in राजनीति

