STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्फा अवार्डसंग जाेडियाे प्राइम टेलिभिजन एचडी

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २६, मंगलबार

नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा हेरिएको तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (INFA Award) २०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग जाेडिएकाे छ र दुबै पक्ष बीच सम्झौता सम्पन्न भएको छ ।

काठमाडौंको अनामनगरस्थित स्टार बोसमा आयोजित विशेष कार्यक्रममा इन्फा इभेन्ट्स यूकेका‌ अध्यक्ष उमेश राज मोक्तान तथा प्राइम टेलिभिजनका निर्देशक एलिजा गौतमबीच अवार्ड समारोहको प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर आदान–प्रदान गरिएको हो ।

सम्झौतासँगै आगामी अगस्ट १५ मा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुने भव्य INFA Award 2026 समारोह प्राइम टेलिभिजनमार्फत देश तथा विदेशमा रहेका दर्शकमाझ पुग्ने भएको छ ।

लण्डनबाट प्रारम्भ भएको इन्फा अवार्ड यात्रा यसपटक काठमाडौंसम्म आइपुगेको हो ।

नेपाली फिल्म क्षेत्रको विकास, प्रवर्द्धन तथा नेपाली चलचित्रकर्मीको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजना हुँदै आएको इन्फा अवार्डको तेस्रो संस्करण नेपालमै आयोजना हुन लागेको हो  ।

अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकको उद्देश्य रहेको छ ।

नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वदेखि पछिल्लो पुस्ताका प्रतिभाशाली चलचित्रकर्मीलाई समेत एउटै मञ्चमा सम्मान गर्ने भएकाले यस अवार्डलाई चलचित्र क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

काठमाडौंमा भव्य समारोह

तेस्रो इन्फा अवार्डको आगामी अगस्ट १५ अर्थात् शनिवार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुँदैछ । लण्डनमा स्थापित अवार्ड समारोहको निरन्तरतालाई कायम राख्दै यसपटक नेपालमै भव्य रूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

इन्फा अवार्डलाई नेपालमा आयोजना गर्नुको उद्देश्य नेपाली फिल्म र चलचित्रकर्मीलाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउनु पनि रहेको आयोजक पक्षले जनाएको छ । यसले नेपाली फिल्म उद्योगमा सक्रिय कलाकार तथा प्राविधिकको योगदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्राइम टेलिभिजनबाट दर्शकमाझ पुग्ने

सम्झौतापछि इन्फा अवार्ड २०२६ को भव्य समारोह प्राइम टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । अवार्ड समारोहमा सहभागी हुन नसक्ने दर्शकले पनि टेलिभिजनमार्फत कार्यक्रम प्रत्यक्ष हेर्न सक्नेछन् ।

आयोजक र प्रसारण साझेदारबीच भएको यो सहकार्यले नेपाली चलचित्रको महत्वपूर्ण समारोहलाई अझ ठूलो दर्शकवर्गसम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । विशेषगरी नेपालबाहिर रहेका नेपाली चलचित्रप्रेमी दर्शकमाझ समेत इन्फा अवार्डको पहुँच विस्तार हुने विश्वास आयोजक पक्षले लिएको छ।

‘स्वदेशमै इन्फा, हाम्रो फिल्म हाम्रो गौरव’

इन्फा अवार्ड यूकेका अध्यक्ष उमेश राज मोक्तान भन्छन्- ‘यो‌ आयोजनामार्फत हामीले नेपाली फिल्मप्रतिको गौरव र स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको फिल्म अवार्ड आयोजना गर्ने अवधारणालाई समेत जोड दिएका छौं ।  नेपालमा याे अवार्ड समारोह सफलता पूर्वक सम्पन्न गर्न मनाेज के सि र मनिष कार्की  दत्तचित्त एकगरी लागिरहेका छन् भने तयारी पनि अन्तिम चरणमा पुर्याइसकेका झन् । लण्डनबाट प्रारम्भ भएको इन्फाको यात्रा काठमाडौंमा आइपुग्नु नेपाली फिल्म क्षेत्रका लागि पनि विशेष उपलब्धिका रूपमा लिइएका छौं । अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा स्रष्टाहरूलाई सम्मान गरिने भएकाले चलचित्रकर्मी र दर्शक दुवैका लागि आगामी अगस्ट १५ विशेष रहने अपेक्षा गरेका छौं ।’

Categorized in सिनेमा