इन्फा अवार्डमा लोकप्रिय फिल्मस्टारहरुले विशेष प्रस्तुति दिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २५, सोमबार
नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म अवार्डका रूपमा स्थापित हुँदै गएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करण नजिकिएसँगै आयोजकले तयारीलाई तीव्र बनाएको छ ।
आगामी साउन ३० गते १५ अगस्ट २०२६ शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अहिले अन्तिम तयारीमा जुटेको छ ।
इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करण यसपटक पहिलोपटक नेपालमा आयोजना हुँदैछ । इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए ।
अवार्ड समारोहका लागि स्टेज डेकोरेसन, साउन्ड सिस्टम, लाइटिङ, प्राविधिक व्यवस्थापन, कलाकार तथा अतिथिको स्वागतदेखि कार्यक्रम सञ्चालनसम्मका विभिन्न पक्षको तयारी अघि बढाइएको आयोजकले जनाएको छ । समारोहस्थल याक एण्ड यति होटलमा प्राविधिक तथा व्यवस्थापन टोलीले आफ्नो कामलाई अन्तिम चरणमा पुर्याउँदै छ ।
यसपटकको इन्फा अवार्डको मुख्य साँझलाई अवार्ड वितरणसँगै विविध सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिले विशेष बनाउने तयारी गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्रस्तुति सूचीअनुसार नेपाली कला, संगीत, नृत्य तथा हास्य क्षेत्रका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिनेछन् ।
इन्फा अवार्डको मुख्य साँझमा को–को प्रस्तुत हुँदैछन् ?
आयोजकका अनुसार समारोहमा निम्न कलाकार तथा समूहले विशेष प्रस्तुति दिनेछन्–
विशेष नृत्य प्रस्तुति– एलिशा शर्मा
विशेष सांगीतिक प्रस्तुति– रिहान गिरी
विशेष नृत्य प्रस्तुति– उषा उप्रेती तथा पल शाह
विशेष सांगीतिक प्रस्तुति– बाबुल गिरी
विशेष नृत्य प्रस्तुति– समर्पण लामा
विशेष हास्य प्रस्तुति– कमेडी दरबार टिम
विशेष नृत्य प्रस्तुति– कविता नेपाली
विशेष सांगीतिक प्रस्तुति– झुमा लिम्बु
विशेष नृत्य प्रस्तुति– खुशी कार्की
विशेष नृत्य प्रस्तुति– तेरिया फौजा मगर
विशेष नृत्य प्रस्तुति– दिया मास्के
विविध विधाका कलाकारहरूको सहभागिताले इन्फा अवार्डको मुख्य साँझलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ । विशेषगरी नृत्य, संगीत र हास्य प्रस्तुतिलाई अवार्ड समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी आयोजकको छ ।
याक एण्ड यतिमा जुट्दैछ प्राविधिक टोली
अवार्डको मिति नजिकिँदै गर्दा कार्यक्रमस्थलको व्यवस्थापनलाई आयोजकले उच्च प्राथमिकता दिएको छ । स्टेजको डिजाइन तथा सजावटदेखि साउन्ड, लाइट, प्राविधिक व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिँदैछ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको इन्फा अवार्डको तेस्रो संस्करण भएकाले समारोहलाई विगतका संस्करणभन्दा अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास भइरहेको आयोजकको भनाइ छ ।
लण्डनबाट काठमाडौंसम्म इन्फाको यात्रा
यस वर्षको आयोजनामा बेलायत र नेपालका आयोजक तथा फिल्मकर्मीहरूको संयुक्त सक्रियता रहेको छ । इन्फा यूके लण्डन टिममा अध्यक्ष उमेशराज मोक्तानकाआशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल काठमाडौं आइसकेका छन् । त्यस्तै इन्फा नेपाल टिम अध्यक्ष सुनील श्रेष्ठतथा बोर्ड निर्देशकहरु मनिष कार्की र मनोज केसीसंग समारोहको तयारीमा व्यतस् भैरहेका छ । दुवै टोलीले अवार्डलाई नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।
अवार्डसँगै नेपाली फिल्मको उत्सव
इन्फा अवार्ड २०२६ लाई आयोजकले केवल पुरस्कार वितरणको कार्यक्रमका रूपमा मात्र नभई नेपाली फिल्म, कलाकार, भाषा, कला र संस्कृतिलाई विश्वसामु चिनाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
नेपाली फिल्मकर्मीको सिर्जनात्मक योगदानलाई सम्मान गर्ने, उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गर्ने तथा नेपाल र विदेशमा रहेका नेपाली फिल्मकर्मीबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले आयोजना हुन लागेको अवार्डमा फिल्म क्षेत्रका विभिन्न विधामा उत्कृष्टलाई सम्मान गरिने छ ।
यसैबीच, अवार्ड समारोहमा सहभागी हुने कलाकार, फिल्मकर्मी तथा विशिष्ट अतिथिलाई निमन्त्रणा हस्तान्तरण गर्ने कार्य पनि जारी छ । आयोजक टोली समारोहलाई व्यवस्थित बनाउन विभिन्न पक्षसँग निरन्तर समन्वयमा छ ।
अवार्डको मिति नजिकिँदै जाँदा तयारीले तीव्रता पाएको र मुख्य साँझमा प्रस्तुत हुने कलाकारहरूको सूचीसमेत सार्वजनिक भइसकेकाले यसपटकको इन्फा अवार्ड नेपाली फिल्म क्षेत्रको महत्वपूर्ण जमघटका रूपमा रहने अपेक्षा गरिएको छ ।
Categorized in सिनेमा

