STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २१, आइतबार

 

धनुषा - आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सूचना जारी गर्दै साउन २२ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी अन्य नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताए।

अस्पतालमा पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको उनले बताए। उनका अनुसार अस्पतालमा दैनिक बढीमा दैनिक छ सय ५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले आठ सयभन्दा बढी आइरहेका छन् । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी सङ्ख्या बढेको डा. बोहोराले बताए।

डा. बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक एक सय ५० जनासम्म बिरामी आएको बताए। गत साता यस्तै समस्या लिएर आउने बिरामी सङ्ख्या ४०/४५ जना मात्रै थियो । जनकपुरसहित अहिले गाउँगाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा सामाजिक परिचालक अनिता यादवले सात वर्षीय छोरालाई चार दिनदेखि आँखा पाक्ने रोगले सताएकोमा आजदेखि आफू पनि प्रभावित भएको बताइन्।

उनले छोरालाई ठीक हुन लागेको तर आफूलाई नै आँखा पाक्ने रोग सरेको बताइन्। जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा बोहोराका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।

चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।

सङ्क्रमण बढेपछि दमौलीमा पनि विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनी माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनी माध्यमिक विद्यालयले साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले बताए। उनले भने, “हाल नेपालभर फैलिएको आँखा पाक्ने रोगले यस विद्यालयमा पनि अधिकांश शिक्षक तथा विद्यार्थीमा सङ्क्रमण देखिएकाले तीन दिन शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको छ ।”

बिदाको दिनमा विद्यार्थीको सरसफाइ, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको छ । पञ्चमुनी माध्यमिक विद्यालयले साउन १९ र २० गते विद्यालय बन्द गरेकामा त्यसलाई निरन्तरता दिँदै साउन २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थीमा रोगको सङ्क्रमण देखिएकाले विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

हिउँदे बिदाबाट कट्टा हुने गरी आवश्यकताअनुसार शनिबारसमेत विद्यालय सञ्चालन गर्न सकिने भन्दै साउन २४ गतेदेखि विद्यालय सुचारु हुने वा सङ्क्रमण नियन्त्रण नरहे पुनःसूचना जारी गरिने जनाइएको छ ।

जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन् । यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने डा. सञ्जीव अधिकारीले बताए।

आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्न उनले आग्रह गरे।मी

अस्पतालमा बिराको भीड

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्गटिवाइटिस’ का कारण जिल्लामा आँखा पाक्ने समस्याको प्रकोप बढेपछि भरतपुर आँखा अस्पतालमा बिरामीहरूको भीड बढेको छ । अस्पतालमा बिरामी बिहानैदेखि उपचार गराउन आएपछि भीड हुन थालेको हो ।

अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्र चौधरीका अनुसार अन्य समयभन्दा यो समयमा अस्पतालमा बिरामीको चाप ५० प्रतिशतले बढेको छ । बिरामीमध्ये आँखा पाकेर उपचार गराउन आउनेको सङ्ख्या ७० प्रतिशत रहेको उनले जानकारी दिए। उनले भने, “बिरामीको चाप बढेपछि अस्पतालमा भीड लागेको छ ।”

उनले विगतका दिनमा दैनिक आठरनौ सय बिरामी आउने गरेको भन्दै आइतबारको बिहानैदेखि बिरामीको चाप हेर्दा यो सङ्ख्या दोब्बर हुन सक्ने बताउनुभयो । उहाँले अस्पतालले सबैलाई सहज तरिकाले उपचार र परामर्श दिएको जानकारी दिए।

अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन व्यक्तिगत सरसफाइ र सामाजिक दुरी अपनाउनुपर्ने बताइन्। उनले यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा रोग लागेको बिरामीको सम्पर्कमा जान नहुने जानकारी दिइन्। उनले विशेषत वर्षा मौसम र मौसम परिवर्तनको समयमा यस्ता भाइरसजन्य रोगले सताउने भन्दै रोगबाट बच्नु नै उत्तम उपाय भएको बताइन्।

उनले भनिन्, “यो भाइरल इन्फेक्सन हो त्यसैले यसको लक्षणको आधारमा उपचार गर्ने हो । चिसोले सेक्ने, आँसुजन्य औषधि राख्ने हो ।” उनले आँखा पाकेमा जथाभावी एन्टिबायोटिक औषधि प्रयोग नगर्न सुझाव दिएकी छन्।

डा. सुवेदीले आँखा पाक्ने रोग लागेमा मेडिकलबाट जथाभावी औषधि खरिद गरेर प्रयोग नगर्न सुझाव दिँदै चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताइन्। चितवनसहितका देशैभरि यो समयमा आँखा पाक्ने रोग निकै बढेर गएको छ । जिल्लाका कतिपय पालिकामा यसको प्रकोप बढेपछि शिक्षण संस्था बन्द गरिएको छ ।

आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षक सङ्क्रमित

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा बिस्तारै फैलिदै गएको आँखा पाक्ने रोग अहिले जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी र बेलका क्षेत्रमा फैलिन थालेको छ ।

आँखा पाक्ने रोग फैलिँदै जान थालेपछि सबैभन्दा बढी सङ्क्रमित विद्यालयका विद्यार्थी र शिक्षक बन्न थालेका छन् । आँखा पाक्ने रोगका कारण जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका धेरै सरकारी तथा निजी विद्यालयका विद्यार्थी र शिक्षक सङ्क्रमित भएको यस क्षेत्रका विद्यालयका शिक्षकले बताएका छन् ।

गाईघाट, पिशजोन विद्यालयका प्रिन्सिपल प्रभात कर्णका अनुसार आफ्नो विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी र सात शिक्षक आँखा पाक्ने रोगबाट सङ्क्रमित भएका छन् ।

गाईघाट क्यान्भास एकेडेमी, प्याराडाइज, उदयपु् इङ्गलिस स्कुल, इभरग्रिनसहित सरकारी विद्यालय त्रियुगा नमूना मावि, बालमन्दिर मावि, अम्बेवर मावि राजावाससहितका विद्यालयका शिक्षक र विद्यार्थीहरूमा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. ज्ञानेन्द्र झाले अहिले अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा बालबालिका र विद्यार्थी आँखा पाक्ने रोगको उपचारका लागि अस्पताल आउने गरेको बताए ।

यता बेलका नगरपालिका क्षेत्र र चौदण्डी गढी नगरपालिका क्षेत्रका सरकारी तथा निजी विद्यालयमा आँखा पाक्ने रोगले विद्यार्थी र शिक्षकमा निकै सङ्क्रमित बनाएको जनता मावि हँडियाका शिक्षक बाबुनारायण चौधरीले बताए।

Categorized in स्वास्थ्य-मौसम