STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अवैध मदिरा नष्ट

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको रु ५० हजार बराबरको अवैध मदिरा बुधबार नष्ट गरेको छ । प्रहरीले अवैधरूपमा बिक्री–वितरणका लागि लैजाँदै गरेको ६२ पेटी मदिरा नष्ट गरेको हो । जिल्लामा बिक्री–वितरणका लागि बन्द गरिएको कमसल खालका मदिरा महाकाली सौफी ६० पेटी, जेनियल एक पेटी, डी एक्स मदिरा १२० क्वार्टर र बियर सात बोतल तथा घरेलु मदिरा ५७ लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । इजाजतपत्र नलिई बिक्री–वितरण गर्न राखिएको उक्त कमसल खालका मदिरा जिल्लाका विभिन्न पसलबाट बरामद गरेर स्थानीयवासी, उपभोक्ता समितिका पदाधिकारी, सरकारी कर्मचारी तथा पत्रकारको रोहवरमा नष्ट गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बिक्री–वितरणका लागि बन्देज गरिएको मदिरा बिनाइजाजतपत्रका व्यापारीले बिक्री–वितरणका लागि राखेको हामीले पायौँ, पक्राउ गरेर नष्ट गरेका छौँ ।” डोटी प्रहरीका अनुसार जिल्ला सदरमुकामका ६ स्थानबाट उत्पादन गरिएको घरेलु मदिरा, मदिरा उत्पादनमा प्रयोग हुने भाँडा र अन्य सामग्रीसमेत बरामद गरिएको छ । पछिल्लो समय जिल्लामा प्रहरीले मदिराविरुद्ध चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको भए पनि स्थानीयवासीले त्यसको वास्ता नै नगरी प्रतिबन्धित तथा अवैध मदिरा बिक्री–वितरण गर्न थालेकाले कारवाही तथा चेतावनीस्वरुप मदिरा तथा मदिरा उत्पादन गर्ने सामग्री बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मदिरा बन्द गर्ने अभियान चलाइरहेका छौँ, व्यापारीहरु लुकीछिपी अवैध मानिएको मदिरा बिक्री गर्न थालेपछि नष्ट गर्नैपर्ने अवस्था आयो ।” जिल्लामा प्रहरीले पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गर्दै अवैध मदिरा नियन्त्रण कार्य गरिरहेको छ । प्रहरीले जिल्लामा बिक्री–वितरण हुने अवैध मदिरा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना सङ्कलन गर्ने काम गरिरहेको छ । सादा पोशाकमा खटिएका प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने भट्टी तथा पसलमा छापा मार्ने र मदिरा बरामद गर्ने गरिरहेको छ । मदिराका कारण सवारी दुर्घटनामा वृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने र जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरेकाले यसको नियन्त्रण अभियानमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा हुने अधिकांश घटनामा मदिरा प्रमुख कारण बनेको छ, त्यसको अन्त्य गरेरै छाड्छौँ ।” मदिरा सेवन तथा बिक्री–वितरणमा नियन्त्रण गरेपछि जिल्लामा हुने आपराधिक क्रियाकलापमा केही कमी आएको डोटी प्रहरीको दावी छ ।
Categorized in अपराध-दुर्घटना