
अमेरिकामा हुने भो गोल्डेन नेपाली फिल्म अवार्ड
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ ३२, शुक्रबार

अग्रज चलचित्रकर्मि कृष्ण मल्लको तत्वावधानमा अमेरिकामा केही वर्ष अगाडि देखि ग्लोबल फिल्म अवार्ड हुँदै आएको थियो भने अहिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाको आयोजनामा आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकाको सन फ्रान्सिस्कोमा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्ने भएको छ ।
हिमालयन फाउन्डेसन र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिसँग सहकार्य रहेको अवार्ड बारे जानकारी दिन बिहीबार ठमेलस्थित अलफ्टमा एउटा पत्रकार सम्मेलन गरिएको छ । ०८०|०८१ को आर्थिक बर्षभित्र अर्थात ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिस्पर्धा गर्न पाउने अवार्डमा नेपालबाट करिब दुई दर्जन तथा स्थानीय अनि त्यही रहेका नेपाली कलाकारहरुको भब्य जमघट रहने कुरा सो प्रेस मिटमा बताइएको छ ।
आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली कलाकारिता र कलाकारप्रति आफ्नो सधै उच्च सम्मान रहेको बताउदै यो अवार्डले यस क्षेत्रको बिकासमा टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । उनी यसअघि ग्लोबल फिल्म अवार्डको तीन वटा संस्करणमा प्रमुख एक आयोजक थिए । अब भने उनी एकल रुपमा अवार्ड आयोजना गर्न अघि सरेका हुन् । अवार्ड आयोजक टिममा बरिष्ट अभिनेता शिब श्रेष्ठ,खलअभिनेता सुनील थापा, अभिनेत्री,निर्देशक दीपाश्री निरौला,कलाकार सुनील कटवाल र पत्रकार,फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् ।
पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा बिभिन्न १० बिधामा अवार्ड प्रदान गरिने बताइएको छ । केही बिशिष्ट योगदानकर्मी कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदान गरिने अवार्डको अफिसियल एमसी नरेश भट्टराईले बताएका छन् ।
म्याराथुन धावकका रुपमा अन्तराष्ट्रिय स्पर्धा बिजेता यज्ञलाल अमेरिकामा सफल ब्याबसायी र समाजसेवीका रुपमा चर्चित छन् । प्रेसमिटमा वरिष्ठ अभिनेता नीर शाह,शिब श्रेष्ठ,सुनील थापा,कृष्ण मल्ल तथा बरिष्ट अभिनेत्री बसुन्धरा भुसालले आयोजक यज्ञलालको सहयोगी भावना र उर्जाशील कार्यको तारिफ गर्दै नेपाली फिल्मको श्रीबृद्धिमा यो अवार्डले निकै टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।
सोही अबसरमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो । अभिनेत्रीहरु भुवन चन्द,बसुन्धरा भुसाल,चैत्य देवी,बरिष्ट अभिनेता नीर शाह,शिब श्रेष्ठ,चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक समेत रहेका यज्ञलालले संयुक्त रुपमा पानसमा दीयो बालेर समाजको उद्घाटन गरे ।
आफूहरुले सिन्धुपाल्चोकबासीलाई एकत्रित गरि समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको जानकारी अध्यक्ष फुर्वा ग्याल्बो लामाले जानकारी दिए ।
सिन्धुपाल्चोक समाज,अमेरिकाका अध्यक्ष,युवा ब्याबसायि दीपेश लामाले आफुहरु जहाँ रहे तापनि मन भने आफ्नै जन्मस्थानमा हुने बताउदै सिन्धुपाल्चोकबासी बर्षेनी बाढीपहिरोबाट पीढित हुने गरेकाले आपत बिपदमा परेकालाई सहयोग गर्न एकजुट भइ लाग्नुपर्ने बिचार राखे । गोल्डेन स्टेट मुभी मेकर्सका अध्यक्ष यज्ञलाल श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका बरिष्ट व्यक्तित्व,कलाकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति थियो ।
Categorized in सिनेमा