एघार किलो चाँदीसहित भारतीय युवक पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १७, शुक्रबार
महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
युवक साह ज१२प ७३३ नंको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नपा–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना