नेवाः राष्ट्रिय पत्रकार दबूको अस्ट्रेलिया शाखामा डा. राजु मानन्धरको अध्यक्ष
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २५, मंगलबार
सिड्नी, अस्ट्रेलिया - नेवाः पत्रकारहरुकाे छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबुकाे अस्ट्रेलियामा क्रियाशील नेवाः पत्रकारहरूलाई एकताबद्ध गर्दै नेपालभाषा पत्रकारिता, मौलिक संस्कृति तथा नेवाः समुदायका सामाजिक र सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले नेवाः राष्ट्रिय पत्रकार दबूको अस्ट्रेलिया शाखा गठन गरिएको छ।
“नेवाः तजि लजि व मातृभाषा झीगु अभिभारा” अर्थात् नेवाः संस्कृति र मातृभाषा हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ अघि बढ्ने शाखाले अस्ट्रेलियामा सक्रिय नेवाः पत्रकारहरूलाई संगठित गर्ने, नेपालभाषामा समाचार तथा सञ्चार सामग्री प्रकाशन गर्ने र नेवाः समुदायलगायत समग्र नेपाली समुदायका गतिविधिलाई पत्रकारितामार्फत अभिलेखीकरण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
शाखाको प्रारम्भिक कार्यसमितिमा लुक्ला टिभी अस्ट्रेलियाका प्रधान सम्पादक डा. राजु मानन्धर अध्यक्ष (नायः), एभरेस्ट टीभी मिडिया कम्युनिकेसनका कार्यक्रम निर्देशक, निर्माता तथा प्रस्तोता रहिन्द्र श्रेष्ठ उपाध्यक्ष (न्वकु), दीप्ता श्रेष्ठ महासचिव (मू छ्यान्जे) र हिमालयन रेडियो ८८.९ की प्रस्तोता रसना पलाञ्चोके कोषाध्यक्ष (दां भरी) रहनुभएको छ।
त्यसैगरी श्याम सैंजू, रक्षक श्रेष्ठ र ॐ कृष्ण श्रेष्ठ सदस्य (दुज) रहनुभएको छ। मेलबर्नमा कार्यरत कानुन व्यवसायी विभूषण जोशीलाई कानुनी सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ। आगामी कार्यसमिति बैठकबाट थप सदस्य तथा सल्लाहकारहरूको मनोनयन गरी कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ।
नेपाल संवत् ११३२ (विक्रम संवत् २०६८) मा स्थापित नेवाः राष्ट्रिय पत्रकार दबू (नेसनल फोरम अफ नेवार जर्नालिस्ट्स) ले यसअघि नै डा. राजु मानन्धरलाई आफ्नो अन्तर्राष्ट्रिय शाखाअन्तर्गत अस्ट्रेलिया शाखाको संयोजक नियुक्त गरेको थियो। अस्ट्रेलियामा नेपालभाषा पत्रकारिता, नेवाः संस्कृति तथा समग्र नेपाली समुदायबीच सामाजिक र सांस्कृतिक सद्भाव अभिवृद्धिमा उहाँले पुर्याउँदै आउनुभएको योगदानलाई कदर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको हो। सोही पहललाई संस्थागत स्वरूप दिँदै अस्ट्रेलिया शाखा गठन गरिएको जनाइएको छ।
Categorized in राष्ट्रिय

