चलचित्र कलाकार संघमा चुनावमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धा
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ३१, बिहिबार
नेपाली चलचित्र कलाकार हरुकाे छाता संगठन नेपाल चलचित्र कलाकार संघको आगामी जेठ ३ गते चुनावी साधारण सभा हुँदैछ । उक्त सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ । र यसको लागि चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी बढेको छ ।
यस पटक बरिष्ठ कलाकार उत्तम केसी र संघका वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ–आफ्नो प्यानलको घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् ।
यस पटक मुख्य गरी दुई वटा प्यानल चुनावी मैदानमा छन्, जसमा विभिन्न राजनीतिक आस्था बोकेका कलाकारहरू एउटै टिममा अटाएका छन् ।
नेतृत्वका लागि अभिनेता सविन श्रेष्ठ र कलाकार उत्तम केसीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सविन श्रेष्ठ हालका महासचिव हुन् भने उत्तम केसी अघिल्लो महाधिवेशनमा महासचिवका प्रत्यासी थिए ।
अध्यक्षका उम्मेद्धवार सविन श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा पनाह अधिकारी र उद्धव प्रसाद भट्टराई चुनावी मैदानमा छन्। त्यस्तै महासचिवमा रामेश्वर बुर्लाकोटी र सचिवमा चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ उम्मेदवार बनेका छन् ।
कोषाध्यक्षमा पवित्र आचार्य र सह–कोषाध्यक्षमा पवन केसीले र सदस्य पदका लागि विनोद भट्टराई, नविन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, सुलेमान शंकर (इकु), छुल्ठीम गुरुङ, रामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईं चुनावी दौडमा छन् ।
अर्कोतर्फ केसी प्यानल पनि उत्तिकै बलियो देखिएको छ । यस प्यानलमा पूर्वअध्यक्ष रवीन्द्र खड्काको साथ रहेको चर्चा छ । यो प्यानलको उपाध्यक्षमा शिवहरि बैरागी र पुजना प्रधान रहेका छन् । महासचिवमा सुनिल कटुवाल र सचिवमा गोपाल ढकाल ‘छन्दे’ले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा तेजुला खतिवडा र सह–कोषाध्यक्षमा गीत नेपाल चुनावी प्रतिस्पर्धामा छन् । सदस्यहरूका लागि कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, दमन रुपाखेती, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमति नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाल, इन्द्रदोङ आम्दे, चन्द्रकला दाहाल र गोकुल सुवेदी चुनावी मैदानमा उत्रिएका छन् ।
यसअघि गत चैत्र २८ गतेका लागि तय गरिएको महाधिवेशन सदस्य विवादका कारण स्थगित भएको थियो । नयाँ सदस्य वितरण र नवीकरणमा धाँधली भएको भन्दै केही कलाकारहरूले असन्तुष्टि जनाएपछि अधिवेशन स्थकित भएको थियो । संघका वर्तमान अध्यक्ष मोहन निरौलाका अनुसार संघ भित्र देखिएका विवादहरु सुल्झाएर ३ गते महाधिवेशनको मिति तय गरिएको हो ।
Categorized in सिनेमा

