ओलीले घोषणा गरे आफ्ना १९ सारथी (नामावलीसहित)
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १३, सोमबार
नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सारथी घोषणा गरेका छन् । एमाले हाँक्नका लागि उनले १९ पदाधिकारी प्रस्ताव गर्ने क्रममा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । यस्तै उपाध्यक्षहरूको सूचीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ अटाएका छन् ।
ओलीले महासचिवका लागि शंकर पोखरेललाई अघि सारेका छन् भने उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् । यता सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल अटाएका छन् ।
बुटवलमा भएको ९ औँ महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाल र उपमहासचिवमा पराजित शंकर पोखरेललाई ओलीले एक एक तह बढुवा गरेका छन् । उनीहरूको एक एक तह बढुवा हुँदा लोकप्रिय मत ल्याउने विष्टले भने सचिवमै चित्त बुझाउनुपरेको छ । यता घनश्याम भुसाललाई ओलीले उपमहासचिवको सूचीमा समेत समावेश गरेनन् । उनी १० बुँदे सहमतिका पक्षधर भीम रावल र भुसालसँग निकै रुष्ट थिए ।
अध्यक्ष र उपाध्यक्षको लागि निर्वाचन
एमालेमा अब अध्यक्ष र उपाध्यक्षमा निर्वाचन पक्का देखिएको छ । ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष बन्न रोक्दै रावलले उम्मेदवारी दिने छन् भने भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् । ओलीले बन्द सत्र हलमा रावललाई उपाध्यक्षमै निरन्तरता दिने प्रस्ताव ल्याएका थिए । रावलले उनको प्रस्ताव अस्वीकार गरेका छन् ।
रावलले त्यसअघि नै बन्दसत्रमा अबेर गरेर धाँधली गर्न खोजिएको र गुट निर्माण गर्न खोजिएको आरोप लगाएका थिए । उनको उम्मेदवारीमा दाबीपछि हल नाराबाजीमा उत्रियो ।
Categorized in राजनीति

