STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

   फालेलुङमा चौँरी महोत्सव

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ ।
चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री आङ्बोले पर्यटन प्रवद्र्धनका लागि चौँरीपालनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । 
चौँरीपालनलाई पर्यटकको आकर्षणका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पु¥याउने, चौँरी संस्कृतिको विकास गर्ने, चौँरीजन्य उत्पादनको प्रवद्र्धन गर्ने, लोपोन्मुख वन्यजन्तु तथा जडीबुटीको संरक्षण गर्ने, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुङ्गेलले वताउनुभयो । गाउँपालिकाले गरेको अध्ययनअनुसार उक्त गाउँपालिकाभित्र पर्ने फालोट क्षेत्रमा २१ वटा चौँरी गोठमा ५०४ वटा चौँरी रहेका छन् । चौँरीपालनमा करीब १०० मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन् । महोत्सव आयोजना गरिएको स्थल समुद्र सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । महोत्सवमा चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण थियो । महोत्सवमा पूर्वी नेपालका जिल्लासहित छिमेकी मुलुक भारत, भुटान र चीनबाट समेत महोत्सव अवलोकन गर्नेको भीड लागेको थियो ।
चौँरीपालनलाई व्यवस्थित बनाई चौँरीपालकको आयआर्जनमा बढोत्तरी ल्याउन महोत्सवबाट प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ । यसका लागि गाउँपालिकाले चौँरीगोठ व्यवस्थित गर्ने कार्यक्रमलाई चालू आर्थिक वर्षबाट अघि बढाइसकेको गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । 
यसअघि यहाँका सुर्केथाम दुग्ध सहकारी तथा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन विकास समितिको आयोजनामा दुई पटक चौँरी महोत्सव सम्पन्न भइसकेको छ । 
Categorized in राष्ट्रिय