STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोहर फाल्नेलाई फोहर ‘उपहार’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल हेयर कटिङ सैलुनका सुनिल ठाकुर र अर्जुनधारा–८ शनिश्चरे बजारको निशा मोबाइल सेन्टरलाई फोहर उपहार दिएको हो । “फोहर फाल्नका लागि डस्टबिन राखिदिए पनि जथाभावी फोहर फाल्ने क्रम रोकिएको छैन”, संयोजक पोखरेलले भन्नुभयो, “जथाभावी फोहर गर्नेलाई फोहर नै उपहार दिएका छौँ, यसले अन्य फोहर गर्ने मानिसको व्यवहारमा परिवर्तन आउने अपेक्षा छ ।” अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने बताउनुभयो । “नगरलाई स्वच्छ र सफा राख्नु सबै नगरवासीको दायित्व हो”, उहाँले भन्नुभयो, “जथभावी फोहर फाल्नेलाई कारवाही गरिनेछ ।” जथाभावी फोहर फाल्ने दुवै पसललाई जरिवानास्वरुप जनही रू एक हजार १०० असुल गरिएको छ । उक्त रकम फोहर सरसफाइ गर्दा आवश्यक पर्ने मास्क, पञ्जा र अन्य औजार खरीद गरिने वडाध्यक्ष गौतमले बताउनुभयो । फोहरमैला व्यवस्था ऐन, २०६८ मा व्यवस्था भएअनुसार स्थानीय सरकारको अग्रसरतामा सरसफाइ अभियान सञ्चालन गरिएको अर्का अभियानकर्मी विष्णु आचार्यले जानकारी दिनुभयो । अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा अभियानले ३२औँ साता सम्पन्न गरिसकेको छ । यसक्रममा अर्जुनधारा मन्दिर, दुर्गा मन्दिर, शनिश्चरे बजारक्षेत्र, सालबारी पार्क, कप्तानबारी र ७ नं वडा कार्यालय परिसरमा सरसफाइ गरिसकेको छ । विशेषगरी अर्जुनधारा ६, ७ र ८ नं वडामा यो अभियान केन्द्रित छ । “हामी विस्तार गरेर नगरका सबै वडा, बजारक्षेत्रमा पुग्नेछौँ”, संयोजक पोखरेले भन्नुभयो ।
Categorized in राष्ट्रिय