काठमाडौं र भक्तपुरमा पनि नयाँ संक्रमित देखियो, एकै दिन ८३ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार
काठमाडौं – कोरोना महामारी नेपालमा पनि बिस्तारै बढ्दै गइरहेको देखिन्छ । मंगलबार एकैदिन ८३ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार बिहान ५७ जनामा र बेलुका १०ः१५ बजे थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टिभएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार साँझ कोरोना पोजिटिभ देखिएका काठमाडौं र भक्तपुरकासमेत रहेका छन् ।
सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौंकी एक ३३ वर्षीया महिलामा कोरोना देखिएको हो । भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसअघि संक्रमण देखिएका उपत्यकका सबै निको भएका थिए।
साँझ पुष्टि भएका नयाँ संक्रमितहरु पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका दुई–दुई गरेर छजना, काठमार्डौ र सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
Categorized in राष्ट्रिय