बाटुलाे जुन काे टिजर एक दर्जनभन्दा बढी देशमा चर्चित
Janjati Khabar | २०८३ आश्विन १९, सोमबार
निर्देशक तथा अभिनेता भुवन के सि काे निर्देशनमा बनेका चलचित्र 'बाटुलो जून्'को टिजर रिलिजसँगै चर्चाको केन्द्रमा छ । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको अभिनेता अनमोल केसी स्टारर चलचित्रको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बनिरहँदा युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ ।
शुक्रबार सार्वजनिक भएको 'बाटुलो जून' टिजर रिलिजको पहिलो तीन दिनमै युट्यूवको फिल्म चार्टतर्फ नेपालमा पहिलो नम्बरमा आएको हो । नेपालसँगै विभिन्न एक दर्जनबढि देशमा टिजर ट्रेण्डिङमा छ ।
यो चलचित्रले ३० को दशकमा आधारित प्रेमकथालाई उठान गरेको छ । एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको छ । प्रविधिमैत्री र तीव्र गतिमा बदलिएको पछिल्लो पुस्ताको प्रेमभन्दा फरक र तत्कालिन समाजको परिवेशलाई चलचित्रले कथानकमा समटेको छ ।
चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन् । यसमा अनमोल केसीसँगै प्रिन्सी खतिवडा प्रमुख अभिनयमा छन् । टिजरमा प्रस्तुत अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनय कलालाई दर्शकले स्वागत गरेका छन् भने डेब्यू गर्ल प्रिन्सीको उपस्थितिले पनि प्रसंशा पाइरहेको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको 'बाटुलो जून' आगामी कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन् । चलचित्र 'बाटुलो जून'लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह-निर्माता रहेका छन् ।
Categorized in सिनेमा

