सर्जक मोहन घिसिङलाई मानार्थ विद्यावारिधी
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १९, सोमबार
विश्वकीर्तिमानी सर्जक, गीतकार , अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । साहित्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उहाँलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो ।
भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले घिसिङ लाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा राजस्थानका उप-मुख्यमन्त्री डा. प्रेम चन्द बैरवा रहनुभएको थियो भने विशिष्ट अतिथिमा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान, पद्मश्री पुरस्कार विजेता, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. एम. वली लगायतका रहनुभएको थियो ।
विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा उहाँको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ । समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उहाँलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा संगीत आदि क्षेत्रमा मोहन घिसिङ ले पुर्याउनु भएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान मिलेको जनाइएको छ ।
✍️ डी.पी.शाह"चक्रवर्ती"
Categorized in साहित्य-कला

