STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वयम्भूमा बज्राचार्यको दे आचार्य गुठी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

काठमाडौँका विभिन्न १८ वटा महाविहारसँग आबद्ध बज्राचार्यको बृहत्भेला दे आचार्य गुठी आजदेखि काठमाडौँको स्वयम्भूमा शुरु भएको छ । दे आचार्य गुठी हरेक वर्ष चैत्र कृष्णपक्ष अष्टमी र नवमीका दिने हुने परम्परा छ ।

दुईदिने भेलामा काठमाडौँका विभिन्न १८ वटा महाविहारका १८०० भन्दा बढी बज्राचार्यको सहभागिता छ । स्वयम्भु महाचैत्यको प्रसिद्ध शान्तिपुरमा हुने सो कार्यक्रममा चामल, चिउरा, केराउ, पैसा आदि प्रदान गरिने छ ।

बज्रयान बौद्धधर्मका अनुयायीले हजारौँ वर्षदेखि आफ्नो मौलिक पहिचानका रुपमा रहेको बज्रयानसँग जोडिएको संस्कार दे आचार्य गुठी शुक्रबार हनुमान ढोकामा समापन हुनेछ । त्यहाँ हुने कार्यक्रममा बज्राचार्यलाई सेँ च्या (तिब्बती चिया जसमा नून र घिउको समिश्रणबाट तयार पारिन्छ) पनि खुवाउने परम्परा छ । यहाँ बज्रसत्वको पनि पूजा गरिने आयोजकले बताएको छ । सो आयोजनाको नेतृत्व बज्रयान बौद्धधर्मको सर्वोच्च पद मानिने सदियौँ पुरानो मूल चक्रेश्वराभिषेकबाट हुने कार्यक्रम छ । गएको महीना मात्र बज्रयान बौद्धले स्थानीय मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यलाई परम्परागत धार्मिक विधिअनुसार मूल चक्रेश्वराभिषेक पदमा आशिन गराइएको हो । स्वयम्भू महाचैत्य अगाडि हुने ‘दे आचार्य गुठी’मा मूल चक्रेश्वराभिषेक धूपरत्न बज्राचार्यले नेतृत्व गर्नेछ । नेपाल भाषामा ‘दे’ को अर्थ देश हो भने आचार्यको अर्थ ‘बज्रयान बौद्धधर्मका विशेष ज्ञाता’ भन्ने हुन्छ । हजारौँ वर्ष पुरानो यो परम्परा जनस्तरबाट नै संरक्षण तथा सञ्चालन हुँदै आएको छ । नेपाल संवत् र त्यसको तिथिमितिका आधारमा गरिने बज्रयान बौद्धधर्म र बज्रयान विशेष पूजा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कार अहिले पनि घरघरमा जिवन्त रहिआएको छ । बज्राचार्य मूल पुरोहितका रुपमा रहने परम्परा छ । मल्लकालसम्म राज्यको नै प्रतिनिधित्वका रुपमा लिइने यो गुठीमा काठमाडौँका बज्राचार्यको भेला हुने भए तापनि मल्लकालको पतनपछि यो क्रमशः राज्यबाट टाढा हुँदै गएको छ । विश्वमा बुद्धधर्म र शान्तिको सन्देश आज पनि त्यतिकै महत्वपूर्ण रहेको छ । शान्ति, समानता, विश्व भातृभावमा विश्वास राख्ने बुद्धधर्म संसारका सबै मानवजातिको हितलाई जोड दिइन्छ । गृहष्थ जीवन व्यतित गरेका बज्रयान बौद्ध धर्मावलम्बीले आफ्ना हरेक पूजा तथा प्रार्थनामा लोक कल्याणका निम्ति कामना गर्नुका साथै कायवाक चित्त शुद्ध गरी जगत संसारका सकल सत्व प्राणीको उद्धार कामना गर्ने प्रचलन छ । बुद्धधर्ममा अर्हत फल लाभ गरेका श्रावक बुद्ध, प्रत्येक बुद्ध तथा सम्यक बुद्ध रहेको हुन्छ भन्ने बौद्ध धर्मावलम्बीको विश्वास हुन्छ । मूल चक्रेश्वराभिषक हुने व्यक्तिलाई भगवान् बुद्ध अङ्कित मुकुट पहिराई गँ, बज्र तथा छत्र प्रदान गरिन्छ । यही परम्पराअनुसार यो वर्ष धूपरत्न बज्राचार्य मूल चक्रेश्वराभिषेक हुनुभएको हो ।
Categorized in राष्ट्रिय