STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्यानेटरी प्याड बनाउने तालीम

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालीम दिएको छ । महीनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालीम दिएको गाउँपालिकाले जनाएको छ ।
“महिलाहरु आफैँले स्यानेटरी प्याड बनाएमा खर्च बचत हुन्छ । ग्रामीण महिलाले खर्चिलो प्याड प्रयोग गर्न सकेका छैनन्”, गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले भन्नुभयो, “महीनावारीमा सरसफाइसँगै महिलालाई आवश्यक पर्ने प्याड बनाउन सिकाउने उद्देश्यले यो तालीम दिइएको हो ।”
महिलाले महीनावारीको समयमा प्रयोग हुने लुगाफाटाको प्रयोगबाट विभिन्न सङ्क्रमण हुने गर्दछ । जसले महिलाको स्वास्थ्यमा असर गर्छ । विपन्न तथा सिमान्तकृत महिलाले प्याड खरीद गरेर प्रयोग गर्न सक्दैनन् । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भन्नुभयो, “हामीले स्वस्थ र सफा प्याड आफैँ बनाई आफू र परिवारको स्वास्थ्यका लागि यस्ता खाले कार्यक्रम ल्याएका हौँ ।” उपाध्यक्ष महतोले स्यानेटरी प्याड बनाउने व्यवसाय गर्न चाहने महिलालाई गाउँपालिकाले सहयोगसमेत गर्ने बताउनुभयो ।
“महीनावारीको समयमा महिलाले आफूलाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो”, उपाध्यक्ष महतोले भन्नुभयो, “आगामी दिनमा व्यवसायी र उत्पादनमूलक कार्यक्रममा लगानी गर्छौँ ।”
स्थानीयवासी हिमा महतेले आफूले सिकेपछि गाउँका अन्य महिलालाई समेत सिकाउने बताउनुभयो । “हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौँ, तालीममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौँ”, हिमाले भन्नुभयो, “एकपटक प्रयोग गरेको प्याड धोएर फेरि प्रयोग गर्न मिल्नेरहेछ, यसले आर्थिक बचतसमेत हुने भएको छ ।” तालीम नौ दिनसम्म चल्ने, तालीममा १४० महिला सहभागी छन् ।
Categorized in राष्ट्रिय