STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर उद्याेग वाणिज्य संघको अध्यक्षमा तिब्र प्रतिस्पर्धा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन १९, शुक्रबार

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिबेला साधारणसभा र चुनावी चटारोले समातेको छ । 

४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ठिक यही समयमा अध्यक्षका लागि संघका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पनि उत्रिएपछि चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ ।

वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकार र वर्तमान महासचिव रुपकमान महर्जन चुनावी प्रचारप्रसारमा छन् । प्यानलसहित होमिएका बज्राचार्य र महर्जनसंग प्रतिस्पर्धा गर्न ताम्रकार एक्लै चुनावी दौडमा सामेल भएका छन् ।

एक समय व्यवसायमा आबद्ध भएको हिसाबले प्राविधिक रुपमा उम्मेदवारी दिन मिलेपनि बज्राचार्यले आम उद्यमी व्यवसायीले भोग्नु परिरहेको समस्या र पीडालाई बुझ्न नसक्ने उद्यमी व्यवसायीहरुको भनाई रहेको छ । 

आम उद्यमी व्यवसायीमाझ बज्राचार्य खासै घुलमिल नभएका र जातीय मत आकर्षित गर्न कसरत गरेपनि चिनजानको अभावमा त्यसले काम गरिरहेको छैन । यसले गर्दा बज्राचार्यप्रति मतदाताहरु आकर्षित भएका छैनन् । चिनेजानेकाले जागिरदार कसरी संस्था चलाउन भनेर सोध्ने गरेको भन्दै प्यानलमा रहेका अन्य पदाधिकारीहरु एक्ला एक्लै मतदाता रिझाउन व्यस्त देखिएका छन् । शुरुमा प्यानल चयन गर्दा नै हतासा देखिएका बज्राचार्यको प्यानलमा व्यवसाय छाडेर अन्य पेशामा संलग्न रहेकाहरुको बाहुल्यता रहेको छ । 

अर्का उम्मेदवार वर्तमान महासचिव रुपकमान महर्जन पनि विवादमुक्त उम्मेदवारका रुपमा भने देखिएका छैनन् । घरजग्गा सम्बन्धि कारोवार गर्ने रुपकमान महर्जनको व्यवसाय नै बन्द छ । संघको महासचिवको भूमिकामा रहंदा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेका महर्जन राजनीतिक दलको फेर समातेर संघको नेतृत्व हत्याउने दाउमा छन् ।

महर्जनले हालको कार्यकालमा अपेक्षाकृत कार्य, मेड इन ललितपुर ब्राण्डिंग र हस्तकला नगरी स्थापना कार्यमा अपेक्षित उपलब्धि ल्याउन नसकेको चर्चा हुन थालेको देखिन्छ । महर्जन भएको जातिय लाभ लिन कसरत गरेपनि महर्जनहरुमाझ उनी खासै लोकप्रिय छैनन् । यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारले कसरी मतदातालाई आफ्ना कुराहरु राखेका छन् त्यो पनि महत्वपूर्ण हुन जान्छ । 

उता स्वतन्त्र उम्मेदवार ताम्राकार त्यतिबेला ताम्राकार समाजको पनि अध्यक्ष रहेको कारणले एकै समय दुई संस्थाको अध्यक्ष बन्नुहुन्न भन्ने मान्यताले दुई कार्यकाल पर्खिएर स्वतन्त्र उम्मेदवार बनेका छन् भने अर्कातर्फका उम्मेदवारहरु दुबै क्रमश साथसाथ एनजिओ र आर्ट भिलेज लगायत विभिन्न संस्थामा महत्वपूर्ण जिम्मेवार पदमा छन् । 

राजनीतिक दलहरुलाई गोटी बनाएर उम्मेदवार बनेका बज्राचार्य र महर्जनसंग स्वतन्त्र उम्मेदवार बनेका ताम्राकारको प्रतिस्पर्धा कस्तो हुनेछ भनेर हेर्न २० गतेको निर्वाचनको प्रतिक्षा गर्नुपर्ने हुन्छ । 

Categorized in बिजनेस