STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यूएईमाथि नेपालको सहज जित

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १, बुधबार

काठमाडौं - त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले यूएईमाथि ७ विकेटको जित हात पारेको हो ।

यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए ।

नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए । 

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो ।

यूएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे । उनले ५१ रन जोडे । अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

त्यसअघि यूएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभर मै शून्यमा रोहित पौडेलबाट क्याच गराए ।

चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफ ६ रनमा कुशल भुर्तेलबाट समातिए । त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए । उनले यूएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र  असिफ खानलाई १५ रनमा आउट  गरेका थिए ।

करणले यूएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे ।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चिए । यस्तै गुल्सन झाले २ विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चिए । अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।

सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ ।

Categorized in खेलकुद