STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाका हजारौं पुस्तकहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष २६, बिहिबार

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्ने क्रममा  नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्  । 

समारोहमा बोल्दै प्रमुख अतिथि डंगोलले नेपालभाषाको साथमा नेपालकै विभिन्न भाषा, कला, साहित्य, संस्कृतिलगायत नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन् । ‘अहिले २१औं शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरिका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौं । हाम्रो नेपालको बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन् । ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यस ई-लाइब्रेरीमा काठमाडौं महानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा खुसी लागेको छ । अघि बढ्नुस्, साथ दिन हामी छौं ।’

विभागकै प्राङ्गण ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कामपा उपप्रमुख डंगोलले नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्ररीको समुद्घाटन गरेकी थिइन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ई-लाइब्ररी बनाएको हो । कामपाले ई-लाइब्ररी बनाउन अहिले ५० लाख रुपैयाँ उपलब्ध गराएको र यसलाई अपग्रेड र अपडेट गर्दै जानको लागि महानगरपालिका थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि डंगोलले व्यक्त गरिन् ।

समारोहको सभापतिका रुपमा रहेका  त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करिब चार हजार पुस्तकहरु ई-लाइब्ररीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखत सामग्रीहरु खोजी खोजी अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिए । मन्तव्यको क्रममा विभागका प्रमुख सहप्राध्यापक डा. जोशीले नेपालभाषा र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गरे । ‘यो विभाग अध्ययन, अनुसन्धानको थलो हो । अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउनलाई हामीले ई-लाइब्ररी ल्यायौं । नेपालभाषा क्षेत्र र नेवार समुदायले ई-लाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोको रुपमा सक्दो सदुपयोग गर्नुहोस्’ डा. जोशीले भने ।

समारोहमा उपप्राध्यापक डा. बज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठ ह्याउँनिभा, पुरस्कार तथा छात्रवृत्ति दाताहरुको तर्फबाट पञ्चबीर सिंह तुलाधर लगायतकले आ-आफ्नो विचार राखेका थिए । 

सो समारोहमा सबिना डंगोल, हसना महर्जन , रमिता महर्जन र विनिता तण्डुकारलाई पुष्पदेवी छात्रवृत्ति,  अमिता रन्जितलाई खैगुलि छात्रवृत्ति,  प्रजित शाक्य, राकेशमान मास्के र अनिल स्थापितलाई पियुष पदक र श्रेष्ठ पदक, प्रदिप श्रेष्ठ र महेश स्थापितलाई सत्यहेरा अनुसन्धान पुरस्कार प्रदान गरिएको थियो । 

सो समारोहमा ई-लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्वप्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्वप्रमुख सहप्रा. सिर्जना प्रधानलगायत भाषाप्रेमीहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

Categorized in शिक्षा