STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थरिथरिका नेवारी परिकारमा आकर्षण बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

–गौतमबुद्ध बज्राचार्य  प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदैआएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फूड फेष्टिबल’ प्रदर्शनमा राख्ने तथा रेष्टुराँ एवं चमेनागृहमा पनि पाइन थालेपछि यसमा अन्य समुदायको आकर्षण बढ्न थालेको हो । सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, व्छय्ला आदि खाद्य परिकार विभिन्न फुड फेष्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ । सयौँ वर्षदेखि योमह्री पुन्हीका दिन नेवार समुदायले योमह्री बनाइ खाने प्रचलन भए पनि विस्तारै बजारमा योमह्री बनाइ बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । त्यस्तै चटाँमरी, माय् वः तथा मू वः विभिन्न पूजामा बनाइने परिकार हुन् । हिजोआज ती खाद्य परिकार पनि बजारमा सहज रुपमा किन्न पाइन्छ । सन्याखुना तथा तःखा विशेष भोज र चाडपर्वमा बनाइने परिकार हुन् । ती परिकार पनि पसलमा किन्न पाइन्छ । नेवारी खाजा घर तथा पसलमा अण्डा बारा, माय् वः तथा मू वः, चटाँमरी, सन्याखुना तथा तखाः जस्ता हेर्दा नै मुखमा रस आउने परिकारप्रति अन्य समुदायको पनि आकर्षण बढेको छ । सन्याखुना प्रतिप्याकेट रु ५० देखि रु १५० तथा तखाः प्रतिप्याकेट रु १०० मा किन्न पाइन्छ । त्यस्तै, योमह्री प्रतिवटा रु ५० मा किन्न पाइन्छ । बजी सेटमा चिउरा, लाभापालु, व्छय्ला, आलु तथा अचार मिश्रित परिकार रु १०० देखि रु १५० मा किन्न पाइन्छ । यस्ता परिकार योमह्री पुन्हीका दिन असनसहित शहरका विभिन्न भागमा बिक्रीमा राखिएको तथा त्यहाँ किन्ने मानिसको ठूलो भीड लागेको देख्न सकिन्छ । हालै भृकृटीमण्डपमा सम्पन्न उदाय् समाजको उदाय् भेलामा पनि नेवारी बजी सेट तथा तखाः र सन्याखुना बिक्रीमा राखिएको थियो जसमा मानिसको निक्कै आकर्षण बढेको थियो । नेवारी ज्यापूनी पोशाकमा सजिएका महिला तथा पुरुषले नेवार समुदायको छुट्टै पहिचान त्यहाँ देख्न सकिन्थ्यो । तेस्रो उदाय् भेलाका प्रचार विभाग प्रमुख सुगतरत्न सिन्दुराकारले नेवारी परिकारले नेवार समुदायको छुट्टै पहिचान झल्काउने भन्दै नेवारी परिकारको संरक्षणका लागि सरकार तथा युवावर्ग अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुुभयो । झण्डै १२० वटा कक्ष रहेको समाजको प्रदर्शनीमा नेवारी खाना तथा परिकारको छुट्टै कक्ष रहेको छ । हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमह्री बनाउन निक्कै समय खर्चिनुपर्छ । शीप तथा कलाको भरपूर उपयोग तथा झण्झट नमानी बनाउनुपर्ने योमह्री तयार पार्न चामलको पीठो, चाकु, तिलको धुलो तथा चामलका सिङ्गो गेडा प्रयोग हुन्छ । त्यस्तै सन्याखुना तथा तखाः बनाउन जो कोहीलाई दिनभरिको मेहनत आवश्यक पर्छ ।योमह्रीका लागि आवश्यक कच्चा पदार्थ चाकु, ताइचिन चामलको पीठो बनाउन तथा तिलको पिठो तयार पार्न पनि धेरै परिश्रम पर्छ । यी कच्चा पदार्थ निर्माणका लागि समेत शीप भएकाहरुले अधिक श्रम र समय खर्चिनुपर्छ । “अहा १ कति मिठो मासुको धुलो मिसाइएको बारा १,” पाटनको मङ्गलबजारमा बिक्रीका लागि राखिएका बारा किनेर खाँदै गरेका नुवाकोटका धर्मवीर भण्डारीले भन्नुभयो । चमेना गृहमा आलुचना, चाउमिन, समोसा तथा रोटी जस्ता सदाबहार परिकारबाट वाक्क भएका उहाँजस्ता उपभोक्ताका लागि नेवारी खाजाले छुट्टै स्वाद तथा मिठोपन दिन्छ । नेवारी खाजा पसलमा विशेष गरी व्छय्ला, कचिला, अचार लगायत मासुका खासखास परिकार पाइन्छ । काठमाडौँको टेबहाल, रञ्जना, ठमेल, बागबजार, महाबौद्ध, भोटाहिटी, म्ह्य्पी, लगन एवं पाटनको मङ्गलबजार जस्ता क्षेत्रमा यस्ता नेवारी खाजा घर छन् । पाटनको कृष्णमन्दिर अगाडिको बारा पसल पनि प्रसिद्ध छ । “सांस्कृतिक दृष्टिले मात्र होइन थरिथरिका खानेकुराका लागि प्रयोग हुने शीप, कला, मेहनत तथा परिश्रमका लागि नेवार समुदायसँग हाम्रो जोड चल्दो रहेनछ”, टेबहालमा कचिला, बजी तथा बारा खाँदै गरेका गोरखाका रवीन मिश्र भन्नुहुन्छ, “दही, चिउरा तथा सेल भयो भने हामी गैरनेवारको भोज बन्छ तर, नेवारको हरेक संस्कृति तथा पकवान उत्कृष्ट छ । छुट्टै पहिचान भएका उनीहरुको परिश्रमको सम्मान गर्नुपर्छ । दुई करोड नेपाली यति परिश्रमी भइदिए मुलुक बन्छ ।” ठेलमठेल भीडका बीचमा असनमा दुई वटा योमह्री खाँदै गर्नुभएका कलङ्कीका रीता बुढाथोकी भन्नुहुन्छ, “रुपैयाँको हिसाबले रु ५० पर्ने योमह्रीलाई परिश्रमसँग तुलना गर्दा महङ्गो भन्न मिल्दैन । अहिले मानिस कम परिश्रम तथा धेरै नगद आम्दानी हुने पेशामा लाग्छन् । तर नेवार जातिले योमह्री बनाइरहेका देख्दा नै प्रष्ट हुन्छ, यसमा कति मेहनत छ ।” रञ्जना, टेबहाल, महाबौद्ध, पाटन, मङ्गलबजार जस्ता टोलवस्ती नेवारी खाजाको पारखीका लागि प्रसिद्ध छ । हिजोआज स–साना पसलमा पनि सन्याखुना तथा तखाः सहज रुपमा पाउन थालिएको छ । – रासस
Categorized in राष्ट्रिय